काठमाडौं । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा पेरुलाई ४-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित दर्ता गरेको हो ।
ओलम्पिक निल्टन सान्तोस स्टेडियममा ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले एक एक गोल गरे ।
खेलको १२ औं मिनेटमा एलेक्सले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । उनले ग्राबियल जिससको पासमा गोल गरे । खेलको ६८ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए । फ्रेडमा पासमा उनले गोल गरे ।
ब्राजिलका लागि नेयमारको यो ६८ औं गोल हो । पेलेको कीर्तिमान भन्दा नेयमार ९ गोलले पछि रहेका छन् । खेलको ८९ औं मिनेटमा एभर्टनले गोल गर्दा ब्राजिलले ३-० को अग्रता बनायो । रिचार्लीसनको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन् ।
त्यसपछि खेलको इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४-० को सानदार जित दिलाए । यस जितसँगै समूह बी मा रहेका ब्राजिलले २ खेलमा ६ अंक जोडेको छ ।
ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ । ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको थियो । पहिलो खेल खेलेको पेरुको यो पहिलो हार हो । पेरु समूहको पुछारमा रहेको छ ।
यसै समूहको अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । कोलम्बिया २ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । एक अंक जोडेको भेनेजुएला तेस्रो स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ असार ०४ शुक्रबार
Comments