काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जोर्डनसँग पराजित भएको छ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा सोमबार भएको खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको हो । जोर्डनका लागि बाहा फाइजल सिफले दुई तथा याजन अल अरबले एक गोल गरे ।
खेलको २४ औं मिनेटमा बाहा फाइजलले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा बाहा फाइजलले व्यक्तिगत दोस्रो गोल गर्दै जोर्डनलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ६७ औं मिनेटमा डिफेन्डर याजनले हेडरबाट गोल गर्दै जोर्डनलाई ३–० को जित दिलाए ।
यससँगै जोर्डनले नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न सफल भएको छ । छनोट अन्तर्गत नै गत वर्षको अक्टोबरमा घरेलु मैदानमा जोर्डनले नेपाललाई ३–० ले नै हराएको थियो ।
जितसँगै समूह बी को जोर्डनले ६ खेलमा १३ अंक जोडेको छ । जोर्डन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपालले ७ खेलमा ६ अंक जोडेको छ । नेपाल चौंथो स्थानमा रहेको छ । अब नेपालले अष्ट्रेलियासँग शुक्रबार खेल्नेछ ।
प्रकाशित मितिः २०७८ जेठ २५ मंगलबार
Comments