नसर्ने रोगबाट बच्न जमरा फलदायी, यस्ता छन् जमराको जुसका फाइदाहरू

0

काठमाडौें । दशैं भन्नेबित्तिकै धेरैको मानसपटलमा रातो टीका र जमराको विषय आउँछ । दशैंको पहिलो दिन अर्थात् घटस्थापनाको दिन सूर्यको प्रकाश नपर्ने अँध्यारो स्थानमा खोलाबाट ल्याएको शुद्ध माटोमा धान, गहुँ, मकै, जौंबाट उमारिएको जमरा दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा थापेर आशीर्वाद लिने परम्परा छ ।

हामीमध्ये धेरैलाई जमराको उपयोगिता दशैंका दिन कानमा राख्न मात्रै हो कि भन्ने पनि छ। दशैंमा जमराको महत्त्व जति छ, जमरा मानव स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको विज्ञहरू बताउँछन् ।

आयुर्वेदिक चिकित्सक डा. प्रकाश ज्ञवाली नियमितरुपमा जमराको सेवन गर्नाले शरीरमा आवश्यक पर्ने भिटामिन ए’, बी’, सी’, ई’ थाईमिन, फलाम, पोलीफिनोल, क्यारोफिन तथा अन्य खनिज प्रशस्त मात्रामा पाइने बताउनुहुन्छ ।

उहाँका अनुसार जमराको जुसले कलेजोमा भएको विषाक्त पद्धार्थलाई हटाउनुका साथै ठूलो आन्द्रा सफा गरी शरीरमा स्फूर्ति बढाउन मद्दत गर्छ । यसका साथै पाचनशक्ति मजबुत बनाउन, रगत सफा राख्न पनि जमराको जुस उपयोगी हुने डा. ज्ञवालीको भनाइ छ ।

क्यान्सरका बिरामीलाई पनि जमराको जुस लाभदायी मानिन्छ । रोग प्रतिरोध क्षमता वृद्धि गर्ने गुण पनि जमरामा पाइन्छ । मासुभन्दा बढी प्रोटिन हुनुका साथै मधुमेहका बिरामीलाई पनि जमराको जुस सेवन गर्नु फाइदाजनक हुन्छ ।

कपाल स्वस्थ राख्न,मानसिक समस्या कम गर्न जमराको जुस लाभदायी मानिने डा. ज्ञवाली बताउनुहुन्छ । जमराको जुस सेवनले शरीरमा रगतको मात्रा बढाउनका साथै रगत शुद्ध गर्न उपयोगी हुन्छ । रगतमा सुगरको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ । जसले गर्दा सुगरका बिरामीको लागि जमराको जुस सेवन गर्नु धेरै राम्रो मानिन्छ।

डा. ज्ञवालीका अनुसार युरिक एसिड र उच्च रक्तचाप कम गर्न, आँखाको ज्योति बढाउन जमराको जुस उपयोगी हुन्छ । त्यस्तै अनुहारको कालो पोतो, दाग हटाउन पनि जमराले मद्दत गर्छ । डा. ज्ञवालीका अनुसार जमरामा सूर्यको प्रकाश नपर्ने हुँदा पहेँलो जमरामा क्लोरोफिल तत्त्व हुँदैन । तर हरियो जमरामा पाइने क्लोरोफिल मुटुको धमनीका लागि पनि लाभदायी हुने उहाँले बताउनुभयो ।

हरेक दिन २० देखि ३० मिली जमराको जुस खाली पेटमा वा चिकित्सकको सल्लाह बमोजिम सेवन गर्नु उचित हुने डा. ज्ञवालीको सुझाव छ ।

प्रकाशित मितिः २०७९ असोज २१ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments