काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने भएको छ ।
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै आयोगले राजनीतिक दलहरुसँग परामर्श गर्न सोमबार छलफल कार्यक्रम आयोजना गर्न लागेको हो ।
संघीय संसद् सचिवालयले केही दिनअघि राष्ट्रियसभा निर्वाचनका लागि आयोगलाई अनुरोध गरेको थियो ।
५९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । राजनीतिक दलसँग छलफल गरेर आयोगले सरकारलाई परामर्श उपलब्ध गराउने र त्यसपछि निर्वाचनको मिति घोषणा हुनेछ ।
राष्ट्रियसभाका सदस्यको पहिलो पटक एक तिहाइ सदस्य अर्थात १९ जनाको पदावधि दुई वर्ष, अर्को एक तिहाइ अर्थात १९ जनाको चार वर्ष र बाँकी एक तिहाइ अर्थात १९ जनाको छ वर्षमा पदावधि समाप्त हुने व्यवस्था गरिएको छ ।
फागुन २० मा दुई वर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजना छन् ।
प्रकाशित मितिः २०७६ मंसिर २० शुक्रबार
Comments