काठमाडौं । भारत र चीनबीच अनेकौं चरणको कुराकानी भए पनि पूर्वी लद्दाखबाट सेना फिर्ता गर्न दुवै देश सहमत भएका छैनन् । कठ्यांग्रिदो जाडोमा दुवै देशका सैनिकहरू महिनौंसम्म बस्ने भएका छन् ।
१९ दिनअघि कोर कमान्डरहरूबीच भएको वार्तापछि पनि यस विषयमा कुनै विशेष प्रगति हुन सकेको छैन । आपसी सहमतिमा पछि हट्ने शर्त र कदममा सहमति नबनेकाले वार्ता ठप्प छ । चीनले नवौं चरणको सैन्य वार्ताका लागि मिति निर्धारण गरेको छैन ।
सेना पछि हटाउने प्रस्तावलाई पांगोङ त्सो ताल र चुशुल इलाकाको दक्षिणी किनारबाट लागू गर्नुपर्ने भनी चीनले अड्डी कसेको छ । त्यहाँ भारतीय सैनिकहरू अगस्ट २९ देखि रणनीतिक रूपमा चीनमाथि हावी छन् ।
भारत चाहिँ सैनिकहरू पछि हट्ने काम पांगोङ त्सोको उत्तरी किनारबाट होस् भन्ने चाहन्छन् । त्यहाँको फिंगर ४ देखि फिंगर ८ सम्मको आठ किलोमिटर क्षेत्रमा चीनको सेना कैयौं महिनादेखि बसिरहेका छन् ।
यसबाहेक दुवै देशमा फिंगर इलाकाबाट कति पछि हट्ने भन्ने विषयमा पनि मतभेद छ । रणनीतिक रूपमा महत्त्वपूर्ण देप्साङको मैदानी इलाकाका विषयमा पनि विवाद छ । एजेन्सी
प्रकाशित मितिः २०७७ मंसिर ११ शुक्रबार
Comments