काठमाडौं । लामो समयदेखि प्रतीक्षित दुई नेपाली फिल्म ‘सेन्टी भाइरस’ र ‘आमा’ शुक्रबारदेखि रिलिज भएका छन् । फिल्मका लागि मल्टिप्लेक्समा अग्रिम बुकिङ खुला गरिएको छ । दुवै फिल्मले सुरुआतमा आकर्षक सो पाएका छन् । ‘आमा’लाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले २४ सो दिएको छ भने ‘सेन्टी भाइरस’ लाई ५० सो छुट्ट्याइएको छ ।
‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेको आमाको ट्रेलरले राम्रो हाइप निर्माण गरेको छ । फिल्ममा अभिनेत्रीद्वय मिथिला शर्मा र सुरक्षा पन्त प्रमुख भूमिकामा छन् । यसमा उनीहरूले आमाछोरीको भूमिका निर्वाह गरेका छन् । फिल्म प्रदर्शनको अघिल्लो दिन निर्माण टिमले विशेष प्याकेज घोषणा गरेको छ । काठमाडौंका केही सिनेमा घरमा आफ्नी आमासँग जाँदा निःशुल्क फिल्म हेर्न पाउने व्यवस्था गरिएको छ । काठमाडौंको जय नेपाल हलमा पौने १२ बजे, क्युज हलमा पौने ११ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको सोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क फिल्म हेर्न पाइने निर्देशक खनालले बताए ।
‘सेन्टीभाइरस’ पछिल्लो समय समाजसेवीको रुपमा परिचित कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेका हुन् । धुर्मुस र सुन्तलीसँगै दयाहाङ राई, तिथि राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतका कलाकारको फिल्ममा मुख्य अभिनय रहेको छ ।
प्रकाशित मितिः २०७६ फाल्गुन ०९ शुक्रबार
Comments