काठमाडौं। मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले भारतको नागरिकता संशोधन कानुनको बारेमा टिप्पणी गरेपछि उनी अहिले चर्चामा आएका छन् । उनको टिप्पणीलाई लिएर भारतको विदेश मन्त्रालयले वक्तव्य नै निकालेर खण्डन गरेको छ ।
उनले शुक्रबार क्वालालम्पुरमा आयोजित एक कार्यक्रममा बोल्दै भारतमा नयाँ नागरिकता कानुन ल्याइएकोमा प्रश्न उठाएका थिए । महाथिरले भनेका थिए, ‘‘जब भारतीय गएका ७० वर्षदेखि साथ रहेका छन् भने अहिले यसको जरुरी किन पर्यो ? भारतमा यो कानुनका कारण मानिस मरिरहेका छन् ।
मानिसहरू नागरिकका रूपमा बिना कुनै समस्या बसिरहेका थिए । यसमा अहिले के समस्या आयो ? मलाई दुःख लागेको छ कि भारत आफैं धर्म निरपेक्ष देश भन्छ र धर्मका नाममा नागरकता छिन्ने काम गरिरहेको छ । यदि त्यही काम हामीले यहाँ सुरु गर्यौं भने थाहा छैन यहाँ के हुन्छ । भारतको यो कानुन मुसलमान विरोधी छ ।’’
भारतले भने वक्तव्य जारी गरी मलेसियाका प्रधानमन्त्रीको भनाइ भारतको आन्तरिक मामिलामा हस्तक्षेप भएको जनाएको छ । भारतीय विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा मलेसियाका प्रधानमन्त्रीले नागरिकता कानुनमाथि अधुरो जानकारीको आधारमा टिप्पणी गरेको जनाइएको छ ।
भारतको विदेशमन्त्रालयले अगाडि भनेको छ, ‘‘मलेसियाका प्रधानमन्त्रीले एकपटक फेरि भारतको आन्तरिक मामिलामा टिप्पणी गर्नुभएको छ । नागरिकता संशोधन कानुनले तीन देशका ती मानिसलाई नागरिकता दिने व्यवस्था गरेको छ जो धार्मिक कारणले प्रताडित छन् ।
यो कानुनले उनीहरूलाई केही पनि प्रभाव पर्दैन जो पहिलादेखि नै यहाँका नागरिक छन् । कुनै पनि भारतीयको नागरिकता उसको आस्थाका कारण अन्त्य हुँदैन । प्रधानमन्त्री महाथिरको भनाइ तथ्यांकका आधारमा गलत छ । हामी मलेसियालाई आग्रह गर्दछौं कि विषयवस्तुको पूर्णरूपमा जानकारी बिना आन्तरिक मामिलामा टिप्पणी नगरियोस् ।’’
महाथिरले यसअघि भारतको काश्मिर मामिलामा लिएको निर्णयलाई लिएर पनि आलोचना गरेका थिए ।बीबीसी
प्रकाशित मितिः २०७६ पौष ६ आइतबार
Comments