काठमाडौं । अभिनेता तथा निर्माता धनुष र निर्देशक ऐश्वर्या रजनीकान्तले सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन् । उनीहरूले हालै मात्र चेन्नईको एक पारिवारिक अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका हुन् ।
गत वर्षको जनवरीमा धनुष र ऐश्वर्याले अलग हुने घोषणा गरेका थिए । ‘साथी, दम्पती, अभिभावक र एकअर्काका शुभचिन्तकका रूपमा १८ वर्षको साथ । यो विकास, समझदारी, समायोजन र एकअर्काको अनुकूल हुने यात्रा रह्यो । आज हामी त्यो मोडमा उभिएका छौँ । जहाँ हाम्रो बाटो अलग भएको छ,’ धनुषले सामाजिक सञ्जालमा लेखेका थिए, ‘ऐश्वर्या र मैले एक जोडीका रूपमा अलग हुने र वृहत्तर आशामा एक व्यक्तिका रूपमा एकअर्कालाई सम्झाउनका लागि समय लिने निर्णय लिएका छौँ ।’
उनीहरूले सन् २००४ मा विवाह गरेका थिए । धनुष र ऐश्वर्याका दुई छोरा छन् । कामको कुरा गर्दा ऐश्वर्याले ‘लाल सलाम’बाट निर्देशकका रूपमा पुनरागमन गरेकी छन्, जसमा उनका पिता रजनीकान्त विशेष भूमिकामा छन् ।
धनुषको पछिल्लो फिल्म ‘क्याप्टल मिलर’ हो । जुन अरुण मथेश्वरद्वारा निर्देशित र सत्य ज्योति फिल्मद्वारा निर्मित एक्सन–एडभेन्जर फिल्म हो ।
प्रकाशित मितिः २०८० चैत्र २७ मंगलबार
Comments