काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुने थालेको टिप्पणी गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। रास्वपा नेताहरुप्रति लक्षित गर्दै महामन्त्री थापाले मुलुकमा छट्टुहरु राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम सुरु गरेको आरोपसमेत लगाए।
उनले मुलुकलाई छट्टुभन्दा पनि गति र मति दुवै भएको नेताहरु जरुरी रहेको बताए। झुक्याउने खालको छट्टुहरु नेपाली राजनीतिले नचाहेको महामन्त्री थापाको भनाइ थियो।
उनले भने, ‘राजनीतिमा छट्टुहरु हाबी हुन थाले। छट्टुहरु त आउँछ, लटरपटर पार्छ। झुक्याउँछ। अलपत्र यसो रङरोगन गर्छ, जान्छ। हामीलाई छट्टुहरु चाहिएको होइन। हामीलाई धैर्यता भएको, धैर्यताको अर्थ केही पनि नगर्ने मान्छे पनि होइन। हामीलाई गति भएको मान्छे पनि चाहियो। गति र मति दुवै भएको मान्छे चाहियो। मति छ गति छैन, गति छ, मति छैन। हामीलाई त गति र मति दुईवटै चाहियो। किनकि यो बेलामा हामीले मति पनि ठीक राख्नुपर्नेछ। हामीले आफ्नो घरभित्रको फोहोर पनि ठीक गर्नुपर्नेछ। हाम्रो घरभित्र फोहोर छ, सफा गर्नुपर्नेछ। हाम्रो कतिपय ठाउँमा मति बिग्रेको छ। त्यसलाई ठीक गर्नैपर्छ।’
महामन्त्री थापाले कांग्रेसभित्र पनि मति बिग्रेका नेताहरु भएको भन्दै त्यसमा सुधार गरेर अघि बढ्नुपर्ने बताए।
प्रकाशित मितिः २०८० चैत्र १३ मंगलबार
.
Comments