काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा फेरि करेक्शन आएको छ । दुई लगातार बढेको बजार आज उच्च अंकले घट्दा कारोबार पनि डेढ अर्बकै हाराहारीमा सीमित भएको छ ।
शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ५२ अङ्कले घटेर दुई हजार १३ दशमलव ९३ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको शेयर साढे आठ प्रतिशत तथा समता घरेलु लघुवित्तको शेयर आठ प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार राताम्मे भएको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशत र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर छ प्रतिशतले बढेको छ ।
आज ४६ लाख ५७ हजार कित्ता शेयर एक अर्ब ५५ करोड पाँच लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको सात करोड ८७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
प्रकाशित मितिः २०८० भदौ ०७ बिहिबार
Comments