काठमाडौं । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृतले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट निर्वाचित लामिछानेलाई माणपत्र प्रदान गरेका हुन् ।
आज सम्पन्न मतगणनाअनुसार रविले ५४ हजार १ सय ७६ मत ल्याएर विजयी भएका छन् । उनले गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ भन्दा ४२ हजार ९ सय ६२ मत बढी ल्याएका छन् । श्रेष्ठको मत ११ हजार २ सय १४ छ ।
त्यस्तै, तेस्रो स्थानमा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत ल्याएका छन् । चितवनमा जम्मा ७८ हजार ४ सय ६६ मत खसेको थियो । चितवन २ मा ४ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनले कांग्रेसका उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको थियो ।
नेकपा एमालेले कृष्णभक्त पोखरेललाई उठाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पार्टी सभापति लामिछाने नै उठेका थिए । उक्त निर्वाचनमा ८३ हजार ९५६ जनाले मतदान गरेको निर्वाचन आयोगको तथ्याङ्कमा छ ।
त्यतिबेला लामिछानेले ४९ हजार २६४ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका थिए । नेकपा एमालेका पोखरेलले १४ हजार ६६७ मत पाएका थिए ।
उक्त निर्वाचनमा पनि निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४ हजार २८१ भोट बढी पाएका लामिछानेले पाएर देशमै फराकिलो मतान्तरले विजय भएका थिए । अहिले भने रविले ४ मंसिरमा बनाएको आफ्नै रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएका हुन् ।
प्रकाशित मितिः २०८० बैशाख १२ मंगलबार
Comments