काठमाडौं । नेपाली चलचित्र नायिका मिरुना मगर अहिले पनि चर्चामै छिन् । आफू अभिनित चलचित्र ‘कबड्डी ४’ ले कीर्तिमानी कमाइ गरिरहेको बेला एउटा विवादका कारण मिरुना थप चर्चामा आइन् ।
एक समर्थकले आफूलाई दुर्व्यवहार गरेको भन्दै उनी प्रहरीसमक्ष पुगिन् । उनको उजुरीपछि प्रहरीले चलचित्र हेर्न आएका दर्शक फुर्पा तामाङलाई नियन्त्रणमा लियो । तर, बौद्ध धर्मावलम्बीले निर्दोष व्यक्तिलाई फसाएको भन्दै आलोचना गरेपछि प्रहरीले तामाङलाई रिहा गर्यो ।
दुवै पक्षबीचका मिलापत्र भएपछि यो घटना अहिले टुंगिएको छ । एकअर्कालाई खादा ओढाएर मगर र तामाङले मिलापत्र गरेका हुन् । यसैबीच, मिरुनाले सामाजिक सञ्जालमार्फत यो घटनालाई कुनै धर्मसँग नजोड्न आग्रह गरेकी छन् ।उनले सही काम गर्न कहिले पनि समय गलत नहुने उल्लेख गर्दै अन्याय रं हिंसाविरुद्ध लड्न सबैलाई आग्रह पनि गरेकी छन् ।
‘कुनै धर्मविरुद्ध मैले आरोप लगाएकी होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ, म कसैलाई अन्याय नसहन आग्रह गर्दछु,’ मिरुनाले भनेकी छन्, ‘चुपचाप आफूले कहिल्यै दुःख नसहनुहोस् र गलतको विरुद्ध जहिले लड्नुहोस्, अहिलेलाई जति नै कठिन भएपनि भोलिको दिन परिवर्तन अवश्य होला । कुनै पनि सही कर्म गर्नका निम्ति समय गलत हुँदैन ।’
प्रकाशित मितिः २०७९ जेठ १९ बिहिबार
Comments