काठमाडौं । भारतीय क्रिकेटर कपिल देवको बायोपिकमा बनेको फिल्म ‘८३’का कलाकारसँगै निर्मातालाई ठगीको आरोप लागेको छ। अभिनेत्री पादुकोणसँगै फिल्मका निर्माताहरुलाई संयुक्त अरब इमिरेट्सका एक लगानीकर्ताले ठगीको आरोप लगाएका हुन् ।
ती लगानीकर्ताले दीपिका र अन्यविरुद्ध मुम्बईको अदालतमा उजुरी पनि दिएका छन्। अदालतमा दिइएको उजुरीका अनुसार ‘८३’को निर्माणका क्रममा फिल्मको निर्माण पक्षले विब्री मिडिया नामक कम्पनीसँग लगानीका लागि सम्झौता गरेको थियो । उक्त सम्झौताअनुरुप फिल्ममा १६ करोड रुपैयाँ लगानी गरिएको थियो।
तर, अहिले भने फिल्मको निर्माण पक्षले यस्तो कुनै लगानी नभएको बताएको उजुरीकर्ताले बताएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। फिल्ममा लगानी गरेका लगानीकर्ताका वकिल रिजवान सिद्दीकीले भारतीय सञ्चारमाध्यमलाई बताएअनुसार अहिले ‘८३’ फिल्मका निर्माण पक्षले पैसा नलिएको बताएका छन्।
आफ्नो क्लाइन्टसँग कानुनी बाटोबाट जानुभन्दा विकल्प नभएका कारण अदालती प्रक्रिया सुरु गरेको सिद्दीकीले बताएका छन्। यता फिल्मका निर्माता रहेका विष्णु बर्धनले यो मुद्दामा भारतको तेलंगना उच्च अदालतले उजुरीकर्तालाई ‘८३’ प्रदर्शन हुने बेला फिल्मलाई प्रभावित गर्ने काम नगर्न आदेश दिएको थियो।
तर, उजुरी कर्ताले फेरि मुम्बईमा उजुरी दिएर अदालतको अवहेलना गरेको उनले बताएका छन्। उनले तेलंगना उच्च अदालतमा विब्री मिडिया र उजुरीकर्तासँगको मुद्दामा अहिले सुनुवाई चलिरहेकाले यस्तो गर्नु अनुचित भएको बताएका छन्।
प्रकाशित मितिः २०७८ मंसिर २४ शुक्रबार
Comments