धरहरा चढ्नेबाट उठ्यो एक करोड ५२ लाख राजस्व

भक्तपुर न्यूज

२९ माघ २०८१ ११:५५

धरहरा चढ्नेबाट उठ्यो एक करोड ५२ लाख राजस्व

काठमाडौं । धरहरा चढ्नेबाट तीन महिना नपुग्दै प्रवेश शुल्कबापत रू. एक करोड ५२ लाख राजस्व सङ्कलन भएको छ ।

२०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनर्निर्माण गरेर सञ्चालनमा ल्याइएको धरहराबाट तीन महिना नपुग्दै प्रवेश शुल्कबापत रू. एक करोड ५२ लाख राजस्व सङ्कलन भएको हो ।

आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालका अनुसार गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएका ऐतिहासिक धरहराबाट माघ २४ गते बिहीबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको हो ।

धरहरा चढ्न प्रतिव्यक्ति रू. दुई सय शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

पछिल्लो समय छिमेकी मुलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन् । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रू. पाँच सय र सार्कबाहेकका राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति रू. एक हजार शुल्क तोकिएको अर्यालले जानकारी दिए ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिइ धरहरा सञ्चालनमा ल्याइएको उनले बताए । गत मंसिर ६ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो ।

प्रत्येक बुधबार धरहरा बन्द रहने भन्दै अन्य दिन यहाँ आउने नागरिकको संख्या दैनिक एक हजार दुई सयको हाराहारीमा रहेको उनले जानकारी दिए ।

यस्तै, माघ १५ गतेदेखि धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । माघ १४ गतेसम्म ३ः१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो । अहिले समय थप गरी ४ः१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म चढ्न पाइने अर्यालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *