तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको भीड

भक्तपुर न्यूज

२१ भदौ २०८१ ८:१६

तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको भीड

भक्तपुर । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीजका अवसरमा आज भक्तपुरका प्रमुख शिवालयमा बिहानैदेखि दर्शनार्थी महिलाहरूको भीड लागेको छ ।

भक्तपुरको दत्तात्रय मन्दिर, सूर्यविनायक–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर, आशापुरेश्वर महादेव मन्दिर, कैलाशनाथ महादेव मन्दिरमा बिहानैदेखि महिलाहरूको भीड लागेको हो ।

यस्तै सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव मन्दिर, सोमलिङ्गेश्वर महादेव, चरखण्डिश्वर महादेव, वडा नं ४ स्थित अनन्तलिङेश्वर महादेव, वडा नं ५ को सुवर्णेश्वर महादेव, वडा नं. ९ को नन्दीकेश्वर महादेव, वडा नं १० चित्तपोलमा रहेको लटरम्बेश्वर महादेव, महाँकालेश्वर महादेव, चाँगुनारायणको यातु महादेव मन्दिरलगायत शिव मन्दिरहरुमा दर्शनार्थीको भीड लागेको छ ।

केही मन्दिरहरुमा नेपाल स्काउट, स्थानीय क्लब र महिला सङ्घसङ्गठनले स्वयंसेवकका रूपमा व्यवस्थापनमा सहयोग गरिरहेका छन् भने विभिन्न स्वास्थ्य संस्थाहरूले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । सुरक्षाका लागि धेरै संख्यामा प्रहरी परिचालन गरिएको छ । मन्दिर परिसरमा दर्शनार्थी महिलाको भीड लाग्नुका साथै महिलाहरूले विभिन्न समूहमा नाचगान गरी तीज मनाउँदै छन् ।

तीज पर्वमा महिलाहरूले आज निराहार व्रत बसी आफ्ना पति, घरपरिवारको लामो आयु, सुख, समृद्धिको कामना गर्दै महादेव मन्दिरमा दर्शन तथा नाचगान गर्दै यो पर्व मनाउने गर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *