उत्तर कोरियाले दोस्रो जासुसी भूउपग्रह प्रक्षेपण गर्ने तयारीमा
काठमाडौं । उत्तर कोरियाले छिट्टै दोस्रो जासुसी भूउपग्रह प्रक्षेपण गर्ने तयारी गरेको छ । उत्तर कोरिया आफैंले यो जानकारी जापानलाई दिएको हो। यसको पुष्टि गर्दै जापान कोस्ट गार्डले उत्तर कोरियाले मे २८ देखि जुन ४ सम्ममा भूउपग्रह प्रक्षेपण गर्ने जनाएको छ । तर, उत्तर कोरियाले यो प्रक्षेपणको मिति भने दिएको छैन ।
समाचार एजेन्सी एपीको रिपोर्टका अनुसार उत्तर कोरियाले जापानी तटरक्षकले पूर्वी एसियामा समुद्री सुरक्षा जानकारी साझा गर्ने भएकोले जापानलाई उपग्रह प्रक्षेपणको बारेमा जानकारी दिएको जनाइएको छ।
दक्षिण कोरिया, जापान र चीनका नेताहरू सोमबार पहिलो त्रिपक्षीय बैठकमा भेला भएका थिए। यसै क्रममा उत्तर कोरियाको यो कदमको जानकारी बाहिर आएको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले अमेरिका, दक्षिण कोरिया र अन्य देशलाई यस विषयमा हस्तक्षेप गर्न आग्रह गरेका छन् । उनले प्रक्षेपण स्थगित गर्ने प्रयास गर्नुपर्ने साथै कुनै पनि आपतकालीन अवस्थामा उपयुक्त कारबाही गर्न पनि तयार रहन उनले आग्रह गरे।
दक्षिण कोरियाको सेनाले पनि उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त गरेको पुष्टि गरेको छ । उत्तर-पश्चिममा अवस्थित टोङचाङ्ग्री प्रक्षेपण सुविधाबाट उपग्रह प्रक्षेपण गरिने छ। यस वर्षको सुरुमा उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले सन् २०२४ मा ३ वटा जासुसी उपग्रह प्रक्षेपण गर्ने तयारी गरिरहेको घोषणा गरेका थिए ।
यसअघि नोभेम्बरमा उत्तर कोरियाले पहिलो जासुसी उपग्रह प्रक्षेपण गरेको थियो । यो प्रक्षेपण तेस्रो प्रयासमा सफल भएको थियो। उक्त समय उत्तर कोरियाले यो भूउपग्रहमार्फत अमेरिका र दक्षिण कोरियाको सैन्य गतिविधिमाथि नजर राख्न सक्ने बताइएको थियो ।
प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार