नेपालमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव
काठमाडौं । नेपालमा अहिले स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बङ्गालको खाडीमा विकसित न्यून–चापीय प्रणाली जेठ १२ गते साँझ चक्रवातमा परिणत भई हाल शक्तिशाली चक्रवातको रुपमा रहेको महाशाखाले जनाएको छ । उक्त चक्रवातलाई रेमल नाम दिइएको छ। चक्रवात भारतको पश्चिम बङ्गाल तथा बङ्गलादेशको तटीय क्षेत्रीयतर्फ अगाडि बढिरहेको जनाइएको छ। चक्रवातको प्रभाव नेपालमा समेत परेको भन्दै महाशाखाले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्णरुपमा बदली रहने जनाएको छ ।
महाशाखाका अनुसार रेमल चक्रवात र स्थानीय वायुको प्रभावका कारण सोमबार बिहान कोशी प्रदेशमा साधारणतया बदली रहेको छ। कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा साथै बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
सोमबार राति कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेस प्रदेशलगायत बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।