जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । काठमाडौंमा आयोजित हिमाल, मानिस र जलवायु परिवर्तन विषयक अन्तर्राष्ट्रिय विशेषज्ञ संवादमा बोल्दै ढकालले यस्तो बताएका हुन् ।
उनले प्रतिकूलता न्यूनीकरण, जोखिम न्यूनीकरण र दिगो अर्थतन्त्रतर्फको संक्रमणलाई बढावा दिन जलवायु वित्तीय व्यवस्थापनको महत्त्वपूर्ण आवश्यकताको बारे जोड दिए । उनले नेपालको जलवायुमैत्री लगानीमा नेपालले गरेका पहलहरू उदाहरणसहित प्रस्तुत गरेका थिए ।
‘जलविद्युतमा निजी लगानीले १,७४४ मेगावाट विद्युत् उत्पादन गरेका छन् । विशेष गरी ग्रामीण क्षेत्रमा सौर्य ऊर्जा परियोजनाहरू बढ्दै गइरहेका छन्, जसले गैर–नवीकरणीय स्रोतहरूप्रति निर्भरता घटाउँदै छ ।’ अध्यक्ष ढकालले भने ।
ढकालले जलवायु मैत्रीपूर्ण लगानीको निरन्तर विस्तार र सशक्त सार्वजनिक–निजी साझेदारीका लागि आह्वानसमेत गरेका छन् । उनले जलवायु वित्तीय व्यवस्थापनको लागि नेपालको निजी क्षेत्रको प्रतिबद्धता पुनः पुष्टि गर्दै सम्भावित साझेदारहरूलाई जलवायु परिवर्तनको समाधानमा सहकार्य गर्न प्रोत्साहित गरे ।
प्रकाशित मितिः २०८१ जेठ १० बिहिबार