दयाहाङ अभिनीत फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक

भक्तपुर न्यूज

१० जेठ २०८१ ११:४५

दयाहाङ अभिनीत फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक

काठमाडौं । विश्वका थुप्रै प्रतिष्ठित फिल्म फेस्टिभलको यात्रापछि घरेलु दर्शकमाझ आउन लागेको फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक गरिएको छ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा पूर्वी पहाडी क्षेत्रको एउटा दुर्गम गाउँमा सामान्य जीवनयापन गर्ने परिवारमा नव–निर्मित बाटोले ल्याएको उतार–चढावलाई देखाइएको छ।

बाँसको चोयाको काम गर्ने माइला, उसको छोरासँगको सुमधुर सम्बन्ध, गाउँमा बत्तीसँगै सडक बनेर पहिलो पटक गाडी पुग्दाको खुशीयालीसहित आधुनिक सुविधाहरूले जीवनपद्दतिमा ल्याएको परिवर्तनलाई ट्रेलरमा देख्न सकिन्छ।

नवीन सुब्बाको निर्देशन रहेको यो फिल्ममा दयाहाङ राई, पशुपति राई र प्रसन राई मुख्य भूमिकामा छन्। दयाहाङले बाँसको चोयाको काम गर्ने ‘माइला’ नामक चरित्र निर्वाह गरेका छन्। उनको श्रीमतीको भूमिकामा पशुपति देखिएकी छन् भने छोराको भूमिका प्रसनले निर्वाह गरेका छन्।

महेश राईको कथा रहेको फिल्मको पटकथा उनले नवीन सुब्बासँग मिलेर तयार पारेका हुन्। निर्मातामा नवीनसँगै अमोद राई छन्। सामुदायिक लगानीको अवधारणमा निर्माण गरिएको फिल्मलाई जोस हेरमले छायांकन, क्वान पुन लुङले सम्पादन गरेका हुन्। मेन्छ्यायेम पिक्चर्स र बाँसुरी फिल्म्सको प्रस्तुति रहेको फिल्म यही जेठ २५ गते रिलिज हुँदैछ।

प्रकाशित मितिः २०८१ जेठ १० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *