सुरक्षण मुद्रण भ्रष्टाचार प्रकरणमा विकलसहित ४ जना दोषी ठहर

भक्तपुर न्यूज

९ जेठ २०८१ ५:२६

सुरक्षण मुद्रण भ्रष्टाचार प्रकरणमा विकलसहित ४ जना दोषी ठहर

काठमाडौं । बहुचर्चित सेक्युरिटी प्रिन्टिङ प्रेसको भ्रष्टाचारमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ४ जना दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले विकल पौडेललाई २ वर्ष कैद सजाय सुनाएको छ। २५ करोड जरिवाना र बिगो असुल गर्नुपर्ने ठहर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो। ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबी थियो। यस्तै मेकानिकलतर्फका तत्कालीन सीडीई (हाल वन तथा वातावरण मन्त्रालय) नवीनकुमार पोखरेल, इन्जिनियरिङ मार्केटिङ कन्सर्ननामक कम्पनीका प्रबन्ध निर्देशक रोहितमान प्रधान र मेपटेक बिल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन पनि यस घोटालामा दोषी ठहर भएका छन्। उनीहरूलाई ६ महिनाका दरले कैद सुजाय सुनाइएको छ।

सुरक्षा मुद्रण केन्द्रका निर्देशक पौडेलले पावर सिस्टम खरिद गर्न बोलपत्रमा मिलेमतो, अस्वाभाविक लागत अनुमान सकार, गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मरलाई भुक्तानी र औचित्य नै पुष्टि नहुने बल्क फ्युल ट्यांक सिस्टम किनेर भ्रष्टाचार गरेका अख्तियारको दाबी थियो।

यस प्रकरणमा ५ जना अभियुक्तले सफाइ पाएका छन्। सफाइ पाउनेमा शाखा अधिकृत मनिकमान महर्जन, तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरीष उपाध्याय, मेपटेक बिल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौ छन्।

विकल पौडेलविरुद्ध विदेशको पीआर लिएर नेपालको सार्वजनिक पदमा बसेकोमा अर्को भ्रष्टाचार मुद्दा पनि अख्तियारले अदालतमा दायर गरेको छ। यो मुद्दा विशेष अदालतमा विचाराधीन नै छ। यस्तै उनीमाथि अकुत सम्पत्ति मुद्दामा पनि अनुसन्धान पनि जारी छ।

प्रकाशित मितिः २०८१ जेठ ०९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *