डेल कम्पनीको लोगो कम्प्युटरमा लेबलिङ गरेर बेचबिखन गर्ने दुईजना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले डेल कम्पनीको लोगो सादा मनिटरमा लेबलिङ गरी कम्प्युटर मनिटर बेचबिखन गरेको अभियोगमा दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी परिसरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा बर्मा देश घर भई हाल काठमाडौँ महानगरपालिका–२२ बस्ने २२ वर्षीय तुसार अग्रवाल तथा न्युरोडमा पसल रहेका उमेश मुडभरी रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पक्राउ परेका मुडभरी काठमाडौंको न्युरोडमा पसल सञ्चालन गर्ने व्यक्ति रहेको खुल्नमा आएको प्रहरीले जनाएको छ । प्रहरीले तुसार अग्रवालको गोदमबाट कम्पनीको लोगोसहित ५० थान तथा लोगोबिनाको एक सय ८५ गरी कूल दुई सय ३५ थान एवं मुडभरीबाट न्युरोड पसलमा बेचबिखनका लागि राखिएको कम्पनीको लोगोसहितको ६ थान मनिटर बरामद गरिएको प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले बताए ।
प्रकाशित मितिः २०८१ जेठ ०७ सोमबार