हतियारसहित नेपाल छिरेका एकतर्फी सीमा नाप्ने एसएसबीलाई रोके स्थानीयले
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकास्थित सीमा क्षेत्रमा एकतर्फी रुपमा सीमा नापजाँच गर्न आएका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले फिर्ता पठाएका छन्।
आइतबार विहान बेलौरी वडा नम्बर १० स्थित नेपाल-भारत सीमा स्तम्भ ३२ देखि ३४ नम्बरसम्म निरीक्षण गर्ने भन्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी)को टोलीले नेपाली भूमिमा पसेर नापिरहेका थिए। एसएसबीको टोली आएपछि स्थानीय उनीहरुलाई रोक्न पुगे। केही समयको वादविवादपछि उनीहरुलाई भारत फर्काए।
घटनास्थल पुगेका सीमा सरोकार समूहका सदस्य हरिश चन्दका अनुसार बेलौरी १० भुडा भन्ने ठाउँको सीमामा नेपाली नागरिक र एसएसबीबीच वादविवाद भएको हो। सीमामा विवाद हुँदा पचुई बीओपीबाट सशस्त्र प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेको थियो। नेपाली सुरक्षाकर्मी आएपछि भारतीय एसएसबी सरी भन्दै फर्केको सरोकार समूहका सदस्य चन्दले जानकारी दिए।
‘माथिबाट नापी टोली आउने भनेको हो। लकडाउन र कोरोना भनेर आएको छैन,’ चन्दले सुनाए। यहाँ ३१ देखि ३४ नम्बर पिल्लरसम्म विवाद छ।
‘सीमा निरीक्षण र पिल्लरको फोटो खिच्न आएको भनेर बोर्डरबाट ८०/१०० मिटर भित्र आएर डोरीले नेपालीको लालपुर्जा भएको जमिन नापिरहेका रहेछन्,’ उनले भने, ‘स्थानीयले प्रतिकार गरेपछि गल्ती भयो सरी भनेर गए।’
उनका अनुसार माफी मागे पनि भारतीय सुरक्षाकर्मीले नियत राखेर बारम्बार गल्ती दोहोर्याउँदै आएका छन्।
सीमामा विवाद भएपछि पचुई बीओपीबाट इन्स्पेक्टर गएर भारतीयलाई फिर्ता पठाएको एसपी जानकारी दिए। ‘पिल्लरको अवस्था, दुरी, कतै सर्यो ? कस्तो हालतमा छ भनेर १५ दिन तीनरतीन महिनामा फोटो र जीपीएस लिन्छौं। यो नियमित हुन्छ। खबर नगरी आउनु चाहीँ गलत भयो,’ उनले प्रष्ट्याए।
प्रकाशित मितिः २०७७ कार्तिक २३ आइतबार