छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
काठमाडौं । छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । नवलपरासी (पूर्व) को कावासोती नगरपालिका–३ मानेचोकस्थित ४६ वर्षीय लालबहादुर पुनको घरमा जुवातास खेलिरहेका अवस्थामा पुन लगायत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद ३८ हजार १ सय ४५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ त्रिवेणी चोक डेरा गरी बस्ने विनोद उदासको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय दिनेश केसी लगायत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४८ हजार ९ सय ९० रुपैयाँ, २० थान कौडा, तास र ७ ग्रामको श्रीखण्ड २ टुक्रा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक २१ शुक्रबार