३० वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ

भक्तपुर न्यूज

१८ कार्तिक २०७७ ११:१७

३० वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले ३० वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बाबियाचौरको टोलीले मंगलबार ती अभियुक्तलाई पक्राउ गरेको हो।

जिल्ला अदालतले २०४७ पुस २६ गते कैद सजायको फैसला गरेका मानबहादुर सुनारलाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको हो। उनीमाथि व्यक्तिलाई कुटपिट गरी अंगभंग बनाएको अभियोग लागेको थियो।

अदालतले उनलाई ८ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। अभियुक्त सुनारलाई बर्दियाको बाँसगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

साविकको सालकोट गाविसका (हाल पञ्चपुरी नगरपलिका–२) का सुनारले २०४६ चैत १३ गते छिमेकी तुलाराम निउरेलाई कुटपिट गरेका थिए।

उनीसहित सहोदर तीन भाइ यो घटनामा संलग्न थिए। जसमध्ये अमरसहित दुई भाई पक्राउ परिसकेका छन् भने एक जना फरार छन् । उक्त घटनापछि पीडित तुलारामको बायाँ हात र बायाँ खुट्टा चल्न छोडेको उनका छोरा डिल्लीराम निउरेले बताए।

उनका अनुसार तीनै भाइलाई अदालतले ८/८ वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसला भएको राति नै कसैलाई थाहा नदिएर उनीहरूको परिवार नै फरार भएको थियो ।

प्रकाशित मितिः २०७७ कार्तिक १८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *