बीपी प्रतिष्ठानका रेडियोग्राफरसहित ४ संक्रमितको मृत्यु

भक्तपुर न्यूज

१८ कार्तिक २०७७ ९:०६

बीपी प्रतिष्ठानका रेडियोग्राफरसहित ४ संक्रमितको मृत्यु

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मोरङको केराबारी गाउँपालिका–८ का ५७ वर्षीय पुरुष, प्रतिष्ठानको रेडियोलोजी विभागमा कार्यरत रेडियोग्राफर एक पुरुष, धरान–१५ का ६३ वर्षीय एक पुरुष र धरान–१६ का ७७ वर्षीय एक वृद्धको मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड(१९ अस्पताल प्रतिष्ठानका सहप्रवक्ता डा अशिष श्रेष्ठका अनुसार केराबारी–८ का ५७ वर्षीय संक्रमित पुरुषको प्रतिष्ठानको कोभिड अस्पतालमै उपचारको क्रममा मंगलबार बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको हो ।

यसैगरी प्रतिष्ठानका रेडियोग्राफरको मृत्यु सोमबार बेलुका भएको हो । राजविराज घर भएका ३० वर्षीय उनी प्रतिष्ठानको आकस्मिक विभागमा कार्यरत थिए । दिसा पातलो आउने र ज्वरो आएपछि पीसीआर जाँच गर्दा कोरोना नेगेटिभ रिपोर्ट आएपनि मृत्यु पछि फेरि पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

यसैगरी धरान–१५ का पुरुषको २७ गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । कोरोना पोजिटिभ देखिएपछि लक्षण नभएपनि सुरक्षाका लागि कोभिड अस्पतालमा कात्तिक ५ गते भर्ना भएका थिए । तर कोभिड अस्पतालमा बस्दा झन् तनाव भएपछि घरमै होम आइसोलेसनमा बसेका थिए । छालाको क्यान्सर उपचार गरेर निको भइसके पनि मधुमेहका दीर्घरोगी उनी घरमा बसेको तीन दिनपछि श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरको न्यूरो अस्पतालको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

धरान–१६ का ७७ वर्षीय वृद्ध पुरुषको विराट मेडिकल कलेजमा मंगलबार बिहान मृत्यु भएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार उनको एक साताअघि पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको थियो । उपचारका लागि धरानमा आईसियू भेन्टिलेटर नपाएपछि उनलाई विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

प्रकाशित मितिः २०७७ कार्तिक १८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *