झुटो विवरण बनाएर नेपाली नागरिकता लिने भारतीय कारागार चलान
कैलाली । कैलालीमा झुटो विवरण बनाएर नेपाली नागरिकता लिने भारतीय नागरिक कारागार चलान भएका छन् ।नक्कली विवरण बनाएर जिल्ला प्रशासन कार्यालय कैलालीबाट नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले सोमबार जिल्ला अदालत कैलालीको आदेशमा अन्सारीलाई पुर्पक्षका लागि कारागार चलान गरेको बताए ।
टीकापुरमा बस्दै आएका अन्सारीले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा बनाएर नागरिकता लिएको भेटिएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो ।
यस्तै नेपाली नागरिकता लिने अन्सारीका नक्कली दाजु बनेका खुसीराम चौधरी अदालतले माग गरेका ५० हजार धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्टले सोमबार नै भएको थुनछेकपछि अदालतले चौधरीसँग ५० हजार धरौटी माग गरेकोमा बुझाउन नसकेर कारागार चलान भएको बताए ।
चौधरीसँगै पक्राउ परेकी गीता चौधरी भने साधारण तारेखमा छुटेकी छन् । नक्कली नागरिकताका लागि सिफारिस दिने वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी भने २५ हजार धरौटीमा छुटेका छन् ।
प्रकाशित मितिः २०७७ कार्तिक १८ मंगलबार