संगीताको ‘आइसक्रिम’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट
काठमाडौं । निर्देशक संगीता श्रेष्ठको लघु फिल्म ‘आइसक्रिम’ ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०’मा छनौट भएको छ । फिल्म फेस्टिभलको पहिलो दिन नोभेम्वर ३ मा प्रदर्शनका लागि छनौट भएको हो । फिल्मले बाल यौनशोषणको बिषय उठाएको छ ।
३ देखि ८ नोभेम्बरसम्म आयोजना हुने फेष्टिभल कोरोना महामारीका कारण भर्चुअल रुपमा आयोजना हुँदैछ । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘आइसक्रिम’ छनौट हुँदा खुशी लगेको निर्देशक संगीतले बताइन् । उनले भनिन्, ‘मैले उठान गरेको विषय संसारभर पुग्दैछ । निकै उत्साहित पनि छु । सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा बोल्ने फिल्म ‘आइसक्रिम’ले हाम्रो समाजका छोरीहरु बलात्कार, यौन शोषणमा कसरी पर्छन् भन्ने देखाएको संगीताले सुनाइन् ।
फिल्म अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, युकेको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको ‘इन्टिमलेन्ट फिल्म फेस्टिभल’ र नेपालको ‘मानव अधिकार फिल्म फेस्टिभल २०२०’समेत छनौट भएको थियो । तर पहिलो चोटी प्रदर्शन भने ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’मा हुने भएको हो ।
नौ मिनेट अवधिको फिल्ममा योगिशा खत्रीले मूख्य भूमिका निर्वाह गरेकी छन् ।
प्रकाशित मितिः २०७७ कार्तिक १४ शुक्रबार