आजदेखि क्लिन फिड लागू, भोलीदेखि विदेशी च्यानल विज्ञापनरहित हुने

भक्तपुर न्यूज

७ कार्तिक २०७७ ७:३९

आजदेखि क्लिन फिड लागू, भोलीदेखि विदेशी च्यानल विज्ञापनरहित हुने

काठमाडौं । नेपाल सरकारले आजदेखि विदेशी च्यानलहरुमा क्लिन फिड लागु गरेको छ । जसअनुसार नेपालमा प्रसारण हुने विदेशी च्यानलले भोली शनिबारदेखि विज्ञापन देखाउन नपाउने भएका छन्।

विज्ञापन नियमन गर्ने ऐन २०७६ लागु भएसँगै नेपालमा प्रसारण हुने सम्पूर्ण विदेशी च्यानल विज्ञापनरहित हेर्न पाइने भएको हो। ऐन लागु भएसँगै नेपालमा यसअघि प्रसारण हुँदै आएका विदेशी विज्ञापन नेपाली भाषामा डबिङ नगरी प्रसारण गर्न पाइने छैन।

सञ्चार तथा सूचनामन्त्री पार्वन गुरुङले कात्तिक ७ देखि नेपालमा क्लिन फिड लागु भएको जानकारी दिए। उनका अनुसार नेपालका टिभी च्यानल प्रसारण गर्ने कम्पनीहरुले कात्तिक ८ देखि विदेशी च्यालनमा विज्ञापन देखाउन पाउने छैनन्।

सरकारले २०७३ सालदेखि नै क्लिन फिड लागू गर्नका लागि सरोकारवालाहरुसँग विभिन्न चरणमा छलफल गर्दै आएको थियो। तर, बहशमा आएको लामो समयसम्म पनि क्लिन फिड लागु गर्न सकिएको थिएन ।

खासगरी, २०७६ सालमा बनेको विज्ञापन नियमन गर्ने ऐनको दफा ६ मा विज्ञापनरहित विदेशी च्यानल प्रसारण हुने व्यवस्था छ। त्यसका लागि नियमावली २०७७ समेत बनिसकेको छ।

सहसचिव शर्माको नेतृत्वमा विज्ञापन बोर्ड गठन

क्लिन फिड लागु भए÷नभएको अनुगमन गर्न सरकारले विज्ञापन बोर्डको गठन समेत गरेको छ। सञ्चार मन्त्रालयका सहसचिव डिल्लीराम शर्माको अध्यक्षतामा बोर्ड गठन भएको हो।

विज्ञापन बोर्डले क्लिन फिड लागु भए÷नभएको अनुगमन गर्न आवश्यक कर्मचारी नियुक्त गरेर आवश्यक पर्ने प्रशिक्षण समेत दिइसकेको मन्त्री गुरुङले जानकारी दिएका छन्।

तोकिएको मितिमा क्लिन फिड लागु नभएमा कानुनअनुसार कारबाही गरिने सञ्चार मन्त्रालयले बताएको छ। तसर्थ, विज्ञापन नियमन गर्ने ऐन २०७६ तथा नियमावली २०७७ कात्तिक ७ देखि क्लिन फिड लागु गरिएको हो।

सरकारले आजदेखि क्लिन फिड लागु गरेपछि नेपालका विज्ञापन व्यवसायीहरु खुसी भएका छन्। उनीहरुले वर्षैदेखि विज्ञापनरहित विदेशी च्यानल चल्नुपर्ने माग गर्दै आएका थिए। विज्ञापन व्यवसायी रञ्जित आचार्यले सरकारको निर्णयबाट व्यवसायी खुसी भएको बताए।

प्रकाशित मितिः २०७७ कार्तिक ०७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *