दोलखामा संक्रमण रोक्न १ हप्ता निषेधाज्ञा जारी
दोलखा । दोलखामा मानिसको चाप बढेसँगै कोरोना संक्रमित बढ्दै गएपछि कोरोनाको संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय दोलखाले एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला संकट व्यवस्थापन समितिको बैठकले आजबाट एक हप्ताको लागि सदरमुकाम चरिकोट लगायत जिल्लाका मुख्य बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला भित्रको यातायातका साधनहरु भने आवश्यक सुरक्षा मापदण्ड पुरा गरी बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय बैठकले गरेको छ ।
लामो दुरीको सवारी साधनमा भने रोक नलगाइएपनि अन्य जिल्लाबाट आएका सवारी साधन बन्द गरिएको, बजार क्षेत्र भित्र मानिसहरुलाई सवारी साधनबाट झार्ने र सवारी साधनमा चढाउन पाउने तर लामो समयसम्म सवारी रोक्न नपाउने निर्णय भएको छ ।
जिल्लामा मानिसहरुको चाप बढेसँगै कोरोना संक्रमितको सङख्या ह्वातै बढेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । दोलखामा हालसम्म ७९ जना कोरोना संक्रमित भएका छन । जसमध्ये ५२ जना निको भई घर फर्किएका छन् ।
प्रकाशित मितिः २०७७ कार्तिक ०७ शुक्रबार