बाइडेन र ह्यारिसलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक पक्राउ
काठमाडौं । अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिक तर्फबाट उम्मेदवार बनेका जोसेफ आर. बाइडेन जुनियर तथा उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसको अपहरण तथा हत्या गर्ने धम्की दिएको आरोपमा अमेरिकामा एक पुरूष पक्राउ परेका छन्।
जेम्स डेल रीड नाम गरेका ती पुरूष शुक्रबार मेरील्यान्ड राज्यबाट पक्राउ परेका हुन्। खुफिया निकायले उनीविरूद्ध बुधबार दायर गरेको आपराधिक उजुरीमा ती मान्छेले सो कार्यका लागि केही कदम चालेका थिए भन्ने बारेमा केही खुलाएको छैन।
न्यू योर्क टाइम्समा प्रकाशित समाचारका अनुसार अक्टुबर ४ मा रिडले बाइडेन-ह्यारिसको निर्वाचन प्रचार सामाग्री राखिएको एक घरमा उनीहरूलाई अपहरण र मार्ने धम्की दिएको एक लिखित पर्चा छाडेका थिए। उनले बाइडेन र ह्यारिससँगै उनका समर्थकहरूलाई समेत धम्की दिएका थिए। उनी धम्की छाडिएको घरको ढोकामा रहेको क्यामरामा कैद भएको उजुरीमा उल्लेख गरिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक ०६ बिहिबार