कोरोना खोपको परीक्षणमा सहभागी स्वयमसेवीको मृत्यु
काठमाडौं । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको तेस्रो तथा अन्तिम चरणको मानवीय परीक्षण निरन्तर हुने भएको छ ।
ब्राजिलमा खोपको परीक्षणात्मक डोज लिनका लागि सहमत भएका स्वयमसेवीको निधन भएपछि खोपको परीक्षणका सन्दर्भमा शंका उत्पन्न भएको थियो । तर स्वयमसेवीको निधनका सम्बन्धमा अनुसन्धान गरेपछि खोपको परीक्षण जारी राखिने भएको हो ।
ब्राजिलका स्वास्थ्य अधिकारीहरुले खोप लिएका स्वयमसेवीको निधनका बारेमा विस्तृत विवरण सार्वजनिक गरेको छैन । गोपनियताको कारण देखाउँदै उसले विवरण सार्वजनिक नगरेको हो ।
अक्सफोर्ड विश्वविद्यालयले ती स्वयमसेवीको निधनका सम्बन्धमा गरिएको मूल्यांकनबाट खोपको सुरक्षालाई लिएर कुनै शंका नदेखिएको बताएको छ ।
बेलायती सञ्चार संस्था बिबिसीले भने स्रोतहरुबाट आफूले पाएको जानकारी अनुसार निधन भएका स्वयमसेवीले खोप नलिएको थाहा भएको उल्लेख गरेको छ ।
परीक्षणका लागि आएका आधा स्वयमसेवीलाई मात्रै अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरसविरुद्धको वास्तविक खोप दिइएको छ । अरु आधालाई भने मेनेन्जाइटिसविरुद्धको खोप दिइएको हो ।
परीक्षणमा सहभागी वा उनीहरुका परिवारका सदस्यलाई कसलाई कुन खोप दिइएको छ भन्ने थाहा हुँदैन । दूई समूह बनाएर गरिएको परीक्षणमा कुन खोपले कस्तो काम गर्यो भन्ने थाहा पाउनका लागि अनुसन्धानकर्तालाई सहयोग गर्ने भएकाले सूचना गोप्य राख्ने गरिएको हो ।
औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले वक्तव्य जारी गरेर व्यक्तिगत केसका सम्बन्धमा टिप्पणी नगर्ने तर आवश्यक सबै पुनर्मूल्यांकका कामहरु भएको उल्लेख गरेको छ ।
अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेकाले विकास गरेको खोप कोरोना भाइरसविरुद्ध प्रभावकारी र सुरक्षित साबित हुने विश्वको पहिलो खोप बन्ने अपेक्षा छ ।
पहिलो र दोस्रो चरणको परीक्षणमा सकारात्मक नतिजा देखिएपछि अहिले सो खोपको तेस्रो चरणको बिस्तारित परीक्षण भइरहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक ०७ बुधबार