किम्फमा देखाइएका ७ उत्कृष्ट नेपाली फिल्म यसरी हेर्नुस् अनलाइनमा

भक्तपुर न्यूज

२८ असोज २०७७ १०:३१

किम्फमा देखाइएका ७ उत्कृष्ट नेपाली फिल्म यसरी हेर्नुस् अनलाइनमा

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) ले महोत्सवमा यसअघि देखाएका उत्कृष्ट नेपाली गैरआख्यान तथा छोटा फिल्महरू अनलाइनमा हेर्न पाइने भएकाे छ।

कोरोना महामारीका कारण लामो तथा अनिश्चित समयसम्म लकडाउनमा बस्नुपरेकाले दर्शकका लागि अनलाइन फिल्म हेर्न मिल्ने बनाइएको बुधबार किम्फले विज्ञप्ति जारी गरी जानकारी दिएको छ।

हाल हेर्न पाइने फिल्महरूमा टोनी ह्यागन गन युथ डकुमेन्ट्री ग्रान्टअन्तर्गत बनेका तीनटा डकुमेन्ट्रीहरूः ‘ब्लुज अफ पिंक’, ‘चित्रपुरी नगर’ र ‘गाइने’ छन्।

त्यसैगरी किम्फका पछिल्ला संस्करणमा प्रदर्शन गरिएकामध्ये थप चार वटा फिल्मः ‘स्पिल्ट्स् एन्डस्’, ‘स्ट्रगल इन के-पप’, ‘द लास्ट हनी हन्टर’ र ‘थर्स्टी’ हेर्न पाइनेछ।

यी फिल्म किम्फको वेबसाइट तथा फेसबुक पेजमा ‍गएर हेर्न सकिनेछ।

टोनी ह्यागन डकुमेन्ट्री युथ ग्रान्टस्

ब्लुज अफ पिंक- निर्देशक: गृष्म गिरी  (३० मिनेट)

जनकपुरमा खिचिएको यस फिल्ममा तेस्रो लिंगी समुदायको जीवन चित्रण गर्ने प्रयास गरिएको छ। सामान्य व्यक्ति जसरी परिवार बसाउने र सन्तान हुर्काउने उनीहरूका इच्छा, समाजका अरू मानिसहरूसित उनीहरूको अन्तरक्रिया र सम्बन्धलाई यहाँ खोतल्ने काम भएको छ।

कतिपय सामाजिक र सांस्कृतिक उत्सवहरूमा उनीहरूको भूमिका पनि समाजले स्वीकार गरेको छ, तर त्यसका साथै उनीहरूप्रति हेयभाव पनि रहेको छ। त्यसले गर्दा उनीहरूमध्ये कतिले आफ्नो जीवनलाई अभिशाप पनि ठान्छन्।

चित्रपुरी नगर- निर्देशक : रजिला श्रेष्ठ  (१४ मिनेट)

कुनै समय हिंडेर काठमाडौं प्रवेश गर्ने एक मात्र पैदल बाटो यही ठाउँ भएर जान्थ्यो र यही बाटो भएर सदियौंदेखि राजा-महाराजा र जनसाधारण ओहोरदोहोर गर्दै आएका थिए। तर त्रिभुवन राजपथ बनेपछि यो ठाउँ ओझेलमा पर्न गयो। यहाँको गुलजार बस्ती सुनसान भयो।

तै पनि यस प्राचीन चित्रपुरी नगरको सांस्कृतिक र सामाजिक महत्व बेवास्ता गर्न नसकिने खालको छ।

गाइने- निर्देशक: प्रदीप ढकाल  (२५ मिनेट)

भोजपुरका पाका गन्धर्व परशुराम हरेक दिन आफ्नो खेतबारीमा खनजोत गर्छन्। उनी जातले गाइने भएकाले पहिले पहिले सारङ्गी बजाएर पहाडका गाउँठाउँमा गीत र समाचार सुनाउँदै हिँड्थे। एक किसिमले उनी त्योबेलाका ‘सम्चारे’ थिए। उनको गाउँमा अरू पनि धेरै गन्धर्वहरू बस्छन्।

नयाँ पुस्ताका यी गन्धर्वहरूको सोचाइ बेग्लै छ। अचेल सञ्चार जगतमा आएको परिवर्तनले गर्दा गन्धर्वहरूको परम्परागत भूमिका पनि बदलिएको ठान्छन् उनीहरू। त्यसैले केही वर्ष यता आजीविकाको खोजीमा धेरै गन्धर्वहरू गाउँ छाडी अन्यत्र गएका छन्। तर आफ्नो परम्परागत पेशा, भूमिका र संगीतलाई नछाडी तिनलाई अँगालेर गाउँमै बस्नेहरू पनि नभएका होइनन्।

गाइने फिल्म हेर्न यहाँ क्लिक गर्नुस्ः 

नेपाल पानोरामा तथा अन्तर्राष्ट्रिय प्रतियोगिता

स्प्लिट एन्डस्- निर्देशक : राजन कठेत (२६ मिनेट)

‘स्प्लिट एन्डस्’ युरोपमा रहेका नेपाली प्रवासीहरूको कथा हो। सपनाको खोजीमा कुनै तरिकाले युरोपको लिस्बन पुगेका नेपालीहरू रहँदा-बस्दा एक नेपाली व्यक्तिको स्वामित्वमा सञ्चालित हेयर सैलुनमा नियमित ग्राहक बन्न पुग्छन्।

कपाल काटिँदै गर्दा उनीहरूका निजी कथा-कहानीको पोको पनि खुल्दै जान्छन्। कपाल काट्ने एउटा सामान्य ठाउँ विदेशिएका नेपालीहरूको अनुभव साटासाट गर्ने अनि सल्लाह-सुझाव लिने र दिने ठाउँमा परिणत हुन्छ।

स्प्लिट एन्डस् हेर्न यहाँ क्लिक गर्नुस्ः https://vimeo.com/170588506

Password: Covid19Ends

स्ट्रगल इन के-पप- निर्देशकः  प्रासुना डंगोल (१२ मिनेट)

‘स्ट्रकपप’ नेपालका सात जना युवाहरूको के-पप ब्यान्ड हो। कोरियाको विश्व प्रसिद्ध बिटिएस ब्यान्डको नक्कल गर्दै के-पप ब्यान्डका सदस्यहरूले आफूलाई पनि बिटिएस ब्यान्डका सदस्य जस्तै बनाउँछन्, उनीहरू जस्तै नाच्छन्, उनीहरू जस्तै लगाउँछन्।

नेपालका यी युवाहरूले कसरी आफ्नो ब्यान्ड खडा गरे, कसरी उनीहरूले के-पप ब्यान्ड प्रतियोगितामा भाग लिए र के कुराले उनीहरूलाई बिटिएस ब्यान्ड जस्तै उत्कृष्ट ब्यान्ड हुने प्रेरित गर्‍यो आदि यस फिल्ममा देखाइएको छ।

उनीहरूको सबैभन्दा ठूलो इच्छा भनेको एकदिन कोरिया गएर आफ्नो कला प्रर्दशन गर्ने हो।

द लास्ट हनी हन्टर- निर्देशक: बेन नाइट (३५ मिनेट)

पूर्वी नेपालको हुङ्गु उपत्यकामा बस्ने कुलुङ राई समुदायका मानिसहरू कृषिमा आधारित जीवन बिताउँछन्। प्रकृति पूजामा विश्वास राख्ने यो समुदाय भगवान् रोङकेमीको पूजा गर्छन्। जीवनयापनका लागि ठाडो भीरको अक्करमा चढेर मौरीको मह काढ्ने मौलीधन राई आफू यस कामका लागि रोङकेमीबाटै छानिएको ठान्छन्।

कुलुङ समुदायको विश्वासमा यो दुष्कर कार्य उनीहरूको ईश्वरीय आस्थासित सोझै जोडिएको छ। तर सडकको पहुँच, नयाँ प्रविधि र बजारतन्त्रको विस्तारका कारण उनीहरूको यो परम्परागत जीवनशैली प्रभावित भइरहेको छ।

द लास्ट हनी हन्टर हेर्न यहाँ क्लिक गर्नुस्ः https://vimeo.com/201695311

थर्स्टी- निर्देशक: अनिल न्यौपाने (१८ मिनेट)
नेपालको पहाडी भेकमा पदयात्रा गर्न गएका दुई जना साथी छोटो बाटो जाने प्रयास गर्छन् र डरलाग्दो जंगलमा उनीहरू अप्रत्याशित कुराहरू भाेग्नु पर्छ।

उनीहरूको जीवन र यात्राको भोगाइको सँगालो हो ‘थर्स्टी।

प्रकाशित मितिः २०७७ असोज २८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *