अजरबैजान र अर्मेनियाबीच युद्ध जारी, हालसम्म ६०० भन्दा धेरैको मृत्यु
काठमाडौं । अजरबैजान र अर्मेनियाको बीचमा नागोर्नो काराबाख क्षेत्रलाई लिएर १६ औँ दिनमा पनि युद्ध जारी छ ।रुसको नेतृत्वमा संघर्ष बिरामको घोषणा गरेपनि दुबै देशबीचमा युद्ध हालसम्म जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
युद्धमा हालसम्म ६ सय भन्दा धेरै जनाको मृत्यु भईसकेको छ । यो युद्धमा आम नागरिकको पनि मृत्यु भएको छ ।यसको जानकारी नागोर्नो काराबाखका सैन्य अधिकारीले दि एको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।
मंगलवार भएको युद्धमा अर्मेनियाका १६ जना सैनिकको मृत्यु भएको छ । अधिकारीहरुले २७ सेप्टेम्बरबाट शुरु भएको युद्धमा अर्मेनियाका ५३२ जना सैनिकको मृत्यु भईसकेको बताइएको छ । त्यस्तै अजरबैजानले भने आफ्नो नोक्शान के भएको छ भन्ने जानकारी दिएको छैन । तर दुई हप्ताको लडाईमा ४२ जना आम नागरिक मारिएको बताइएको छ ।
किनागर्नो काराबाखका मानवाधिकार लोकपाल अर्तक बेलारयानले सोमवार उक्त क्षेत्रमा थोरैमा ३१ जना नागरिकको मृत्यु भएको र सयौँ मानिसहरु घाईते भएको बताएका छन् । तर १६ औँ दिनसम्म लगातार भईरहेको युद्धमा घाईते र मृतकको संख्या धेरै भएको बताइएको छ ।
संघर्ष बिराम पछि पनि युद्ध जारी
अर्मेनिया र अजरबैजानको बीचमा अहिले भईरहेको संघर्षमा अप्रत्यक्ष रुपमा विभिन्न देश सहभागी छन् । यो युद्ध नै तेश्रो युद्धको कारण नबनोस् भनेर यसको मध्यस्थताका लागि रुसले पहल गरेको थियो । त्यसपछि पनि अहिलेसम्म युद्ध जारी छ ।
सीरिया र लीबियामा टर्की र रुस पहिल्यैबाट रहेका छन् । यस्तोमा युद्धमा पनि दुबै देशको भुमिका अहम् मानिएको छ । टर्कीमा बनेको ड्रोन विमान नागोर्नो काराबाखमा अर्मेनियाली ट्यांकमाथि आक्रमण गरिरहेको छ । त्यस्तै अर्मेनियाको तर्फबाट रुसको भुमिका अहं रहेको बताइएको छ ।
संघर्ष बिरामको लागि रुसी विदेशमन्त्री सर्गेई लावरोवले युद्धबन्दी र अन्य व्यक्तिहरुलाई एकअर्का देशले साटासाट गर्न र मृतकको शव साटासाट गर्न बताउँदै युद्धविरामको घोषणा गरेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज २८ बुधबार