‘मलाई दुई वर्ष प्रधानमन्त्री बनाए झन् छिटो समाजवाद आउँछ’
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका संगठन विभाग प्रमुख वामदेव गौतम पछिल्लो समय समृद्धि र विकासका उडन्ते कुरा गरेर हाँसको पात्र बनिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीलाई पछ्याउँदै नेता वामदेवले नेपाल अबको पाँच वर्षमै चीन र अमेरिकाको दाँजोमा पुग्ने बताइरहेका छन्। पछिल्लो पटक यस्तै उडन्ते कुरासहितको भाषण नेता वामदेवले काठमाडौंमा कति फाउन्डेसन फर कृटिकल डिस्कोर्सले आयोजना गरेको कार्यक्रम ‘विश्व व्यवस्था र चीन स् नेपालमा समाजवादको सम्भाव्यता’विषयक कार्यक्रममा बोल्दै आफुलाई २ वर्ष प्रधानमन्त्री बन्न दिएमा झन् छिटो समाजवाद ल्याइदिने जिकिर गरेका छन्।
उनले अबको ५ वर्षमै नेपालमा समाजवाद आउन सक्ने दाबी गरे। ‘५ वर्षमा नेपालमा समाजवाद आउँछ। १० वर्षमा समृद्धि र विकासमा चीनलाई उछिन्छौ’, काठमाडौंमा आयोजित कार्यशालमा राजनीतिक विश्लेषक डाक्टर खगेन्द्र प्रसाईंले प्रस्तुत गरेको कार्यपत्रमा टिप्पणी गर्दै उनले भने, ‘मलाई दुई वर्ष मात्रै प्रधानमन्त्री बनाए झन् छिटो समाजवाद आउँछ। उनले यसो भन्दा कार्यक्रममा अन्य टिप्पणीकर्ता र सहभागीहरु हाँसेका थिए। कार्यक्रमको छलफलमा सहभागी प्राध्यापक पिताम्बर शर्माले गौतमको कुरालाई हाँसो लाग्दो भने।
‘यो हाँसो लाग्दो कुरा भएन, उनले भने, ‘पत्यार लाग्दो कुरा पनि भएन।’ नेता गौतमले आफ्नो पार्टीको दस्तावेजमा असहमति यथावत रहेको जिकिर गरे। ‘नेकपाको दस्तावेजमा उल्लिखित जनताको जनावादमा र विधानमा असहमति छु,’ उनले भने। नेपालमा समाजवाद हवाई कल्पना मात्रै नभएको नेता गौतमको जिकिर थियो। ‘युरोप र अमेरिककामा मार्क्सवादमाथि आलोचनात्मक टिप्पणी गरेर मार्क्सवाद सम्भव छैन भन्ने विद्वानहरुको रचनाबाट प्रभावित भएर समाजावाद सम्भव छैन भन्ने दिसमा टिप्पणी आएका छन्’, उनले भने, ‘नेपालमा ५ वर्षमा आधारभुत समाजवाद बनाउन सकिन्छ। अर्को ५ वर्षमा चीन अहिले जुन अवस्थामा छ, त्यो अवस्थामा नेपाल पुग्न सक्छ। त्यो ग्यारेन्टी नेकपालले लिनु पर्छ। नेपालमा समाजवाद अवश्यम्भावी छ।’
प्रकाशित मितिः २०७६ मंसिर ८ आइतबार