छठ पर्वको दोस्रो दिन आज खरना
काठमाडौं । छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदैछ । बिहबिारदेखि विधिवत रुपमा नुहाई–खाई गरी सुरु भएको छठको दोस्रो दिन आज गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरु यसदिन दिनभर उपवास बस्छन् ।
साँझपख नुहाएर चोखो भई कुल देवताको पूजा कोठामा माटोको नयाँ चुल्हो बनाएर सख्खर राखेर खीर तथा माटोको भाँडोमा गहुँको रोटी पकाउँछन् । उक्त खीर र रोटी चन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि व्रतालुहरुले खाने गर्दछन् । त्यसपछि उनीहरु पानीसमेत नपिई व्रत बस्छन् । जसलाई ‘खरना’ भन्ने गरिन्छ ।
छठको मुख्य दिन भोलि अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई गहुँ र चामलको पिठोबाट बनेको परिकार चढाउने गरिन्छ भने चौथो तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ । महाभारत कालमा द्रौपतिसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।
प्रकाशित मितिः २०७६ कार्तिक १५ शुक्रबार