अमेजन जंगल ब्राजिलको सार्वभौम क्षेत्र
काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले अमेजन रेनफरेस्टको ब्राजिलमा पर्ने भूभाग आफ्नो देशको सार्वभौम क्षेत्र रहेको बताएका छन् ।
संरक्षणकर्मीले राष्ट्रपति बोल्सोनारो र उनको सरकारले अमेजन रेनफरेस्टमा भइरहेको फडानीमा आँखा चिम्लिएको आरोप लगाएका छन् ।
किसान तथा काठ तस्करहरुले अमेजन रेनफरेस्टमा तीव्र रुपमा फडानी गरेको र बोल्सोनारो सरकारले रोक्नका लागि कुनै प्रयास नगरेको उनीहरुको आरोप छ ।
तर संयुक्त राष्ट्रसंघको सभालाई न्युयोर्कमा सम्बोधन गर्ने क्रममा ब्राजिलका राष्ट्रपति बोल्सोनारोले अमेजन रेनफरेस्टको ब्राजिलमा पर्ने क्षेत्र आफ्नो देशको सार्वभौम भूभाग रहेको बताएका हुन् ।
अमेजन रेनफरेस्टलाई मानवताको सम्पदा तथा विश्वको फोक्सो भन्नु गलत अवधारणा रहेको बोल्सोनारोले बताएका छन् ।
अमेजन रेनफरेस्टको आधा भन्दा बढी क्षेत्र ब्राजिलमा पर्छ । अमेजन रेनफरेस्टमा विश्वका मानवका लागि आवश्यक अक्सिजनको २० प्रतिशत हिस्सा रहने बताइन्छ ।
अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाका अनुसार सन् २०१९ मा अमेजन रेनफरेस्टमा आगलागीका घटनामा सघन रुपमा बढेका छन् ।
वातावरणविदहरुले जायर बोल्सोनारोको सरकार आएपछि जंगलमा डढेलोका घटनाले तीव्रता पाएको आरोप लगाएका छन् । बोल्सोनारो सरकारले पशुपालक किसान तथा काष्ठव्यवसायीलाई जंगल फडानी गर्न उक्साएको आरोप छ ।
तर संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने क्रममा बोल्सोनारोले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेजन रेनफरेस्टका बारेमा गरेको रिपोर्टिङ्ग तथ्यपरक नरहेको आरोप पनि लगाए ।
जंगलमा लागेको आगो नियन्त्रणका लागि सहयोग गर्ने बहानामा केही देशले गरेको प्रस्ताव उपनिवेश शैलीमा आएको बोल्सोनारोले सम्बोधनको क्रममा भनेका छन् ।
यस्तै उनले आदिबासी समुदायप्रति आफ्नो सरकारले व्यवहार राम्रो रहेको दाबी पनि गरेका छन् । तर उनीमाथि आदिबासी समुदायलाई राम्रो व्यवहार नगरेको आरोप छ ।
ब्राजिलको १२ प्रतिशत भूभागमा ८ लाख भन्दा बढी आदिबासी समुदायको बसोबास छ । आदिबासी समुदायलाई अमेजन जंगलका संरक्षकका रुपमा लिइन्छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज ८ बुधबार