शान्तिसुरक्षाको प्रत्याभूति गर्न सरकारसँग काँग्रेसको माग

भक्तपुर न्यूज

१४ मंसिर २०७४ ३:२९

शान्तिसुरक्षाको प्रत्याभूति गर्न सरकारसँग काँग्रेसको माग

काठमाडौ, १४ मंसिर । नेपाली कांग्रेसले उदयपुर क्षेत्र नम्बर दुईका कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणबहादुर कार्की चढेको सवारीसाधनलाई लक्षितगरी बम प्रहार भएको घटनाको निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गरी नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनसागरबाट अतालिएर पार्टीका उम्मेदवार र कार्यकर्ता लक्षित गरी शृंखलावद्ध बम आक्रमण भएको भन्दै दोषीलाई कानुनी कारबाही गर्न माग गरको हुन्।

उदयपुरको गढी गाउँपालिकामा बम आक्रमणबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।आक्रमणबाट चुनाव प्रसारमा रहेका निरा कटुवाल, धनमाया धौलाकोटी, राजन कार्कीसहित अरु तीन जना घाइते भएका छन्। यसैगरी हिजो उदयपुर क्षेत्र नम्बर एकका नेपाली कांग्रेसका उम्मेदवार डा नारायण खड्काको गाडीलाई लक्षित गरी बम प्रहार भएको थियो।

यसैगरी नेपाली कांग्रेसले पार्टीका पूर्व महामन्त्री एवं झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ का नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाको चन्द्रगढीस्थित घरमा सोमबार राति भएको बम विस्फोटको पनि कांग्रेसले निन्दा गर्दै दोषी पहिचान गरी कारबाही गर्न र निर्वाचनमा शान्तिसुरक्षाको प्रत्याभूति गर्न सरकारसँग आग्रह गरेको छ।

कांग्रेसले लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले लोकतन्त्र विरोधी तत्वहरुले सुनियोजित तवरबाट श्रृंखलावद्ध रुपमा यस प्रकारका घटना घटाएको उल्लेख गरेको छ। विज्ञप्तिमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक आममतदाता यस घटनाबाट रत्तिभर विचलित नहुने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *