माघदेखि राष्ट्रिय परिचयपत्र दिने तयारी

भक्तपुर न्यूज

११ मंसिर २०७४ २:२६

माघदेखि राष्ट्रिय परिचयपत्र दिने तयारी

काठमाडौं, ११ मंसिर । सरकारले आगामी माघदेखि नागरिकताको सट्टा राष्ट्रिय परिचयपत्र दिने तयारी गरेको छ । प्रत्येक नागरिकको वैयक्तिक विवरण सुरक्षित गर्ने उद्देश्यले सरकारले नागरिकताको सट्टा राष्ट्रिय परिचय पत्र दिन लागेको हो । यो परिचयपत्र प्रयोगमा आएपछि एउटै कार्डबाट सरकारले उपलब्ध गराउने अधिकांश सुविधा लिन सकिनेछ । अहिले हरेक निकायले उपलब्ध गाउने फरक–फरक परिचयपत्रको कारण सर्वसाधारण दर्जनौँ परिचयपत्र बोकेर हिँड्नुपर्ने बाध्यतामा छन् ।

सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले सरकारले १४ वर्षअघि राष्ट्रिय परिचयपत्रको अवधारणा अघिसारेको थियो । आर्थिक वर्ष ०६६९६७ को सरकारी नीति तथा कार्यक्रममा पहिलो पटक यो विषयले प्रवेश पाएको थियो । सरकारी र व्यवस्थापकीय ढिलासुस्तीले बजेट व्यवस्था भएको ७ वर्षपछि राष्ट्रिय परिचयपत्र वितरणको काम अघि बढ्न लागेको हो ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रामकृष्ण सुवेदीले दिएको जानकारीअनुसार सरकारले परिचयपत्र छाप्नका लागि मेसिनसमेत ल्याइसकेको छ । ‘हामीले धेरै काम पूरा गरिसकेका छौँ’ सुवेदीले भने ‘पहिलो चरणको परिचयपत्र वितरणको काम माघदेखि सुरु गर्छौँ ।’

पहिलो चरणमा केन्द्रले परीक्षणको रूपमा पाँचथरमा १ लाख १० हजार र सिंहदरबार भित्रका कर्मचारीलाई ७ हजार गरी १ लाख १७ हजार परिचयपत्र वितरण गर्नेछ । नयाँ परिचय पत्रमा प्रत्येक व्यक्तिलाई अर्कोसँग नमिल्ने वा नदोहोरिने गरी एउटा कोड नम्बर दिइनेछ । त्यो नम्बरका आधारमा उसको सबै व्यक्तिगत विवरण सर्भरमा सुरक्षित राखिनेछ ।

पहिलो चरणको परिचयपत्र वितरणपछि दोस्रो चरणमा १५ जिल्लामा, तेस्रोमा २५ जिल्लामा र चौथो चरणमा मुलुकभर गरी आगामी ५ वर्षभित्र देशभर १६ वर्ष उमेर पुगेका सबै नागरिकलाई परिचयपत्र वितरण गर्ने योजना रहेको केन्द्रले जनाएको छ । परिचयपत्रको पहिलो चरण कार्यान्वयनका लागि एसियाली विकास बैंकले ४५ करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको छ ।

नयाँ जन्मने प्रत्येक व्यक्तिलाई जन्मदर्तासँगै नयाँ कोडनम्बर उपलब्ध गराइनेछ । जुन नम्बर उसको जीवनभरका लागि हुनेछ । यो कामका लागि केन्द्रले अहिले व्यक्तिको विवरण संकलन गरिरहेको छ । सुरुमा निर्वाचन आयोगले संकलन गरेको विवरण प्रयोग गर्ने योजना रहेको भएपनि त्यो विवरण आवश्यकताअनुसार नभएकाले नयाँ विवरण संकलन गर्नुपरेको केन्द्रले जनाएको छ ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिको हातका सबै औँलाको औँठाछाप, फोटो नाम, थर, उमेर, लिंग, जन्ममिति, स्थायी ठेगाना, बुबा र आमाको नामथर, पतिपत्नीको नामथर र परिचयपत्र नम्बर लगायतका विवरण समावेश हुनेछन् । परिचयपत्रको एकापट्टिमाथि दायाँतर्फ नेपालको राष्ट्रिय झन्डा र बाँयातर्फ सरकारी छाप तथा तल व्यक्तिका विवरण रहनेछन् । अर्कोपट्टि एक सिंगे गैँडाको चित्र हुनेछ ।

गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्रलाई क्रमिक रूपमा देशभर वितरण गर्ने जनाएको छ । परिचयपत्रमा जनगणना, बिदेसिनेको संख्या, सामाजिक भत्ता लिनेको विवरण, आवेदन, महसुल र कर भुक्तानी लगायतका विवरण राख्न सकिनेछ । परिचयपत्रमा राहदानी विभाग, मालपोत, यातायात व्यवस्था, पञ्जीकरण कार्यालय, स्थानीय निकाय, बैंक, टेलिकम, सवारी चालक अनुमतिपत्र, लोकसेवा आयोग, भ्याट तथा पान नम्बर लगायतको विवरण राख्न सकिने केन्द्रले जनाएको छ । परिचयपत्रमा विद्युतीय मेसिनले मात्र पढ्न सक्नेगरी विद्युतीय चिप्सको प्रयोग हुनेछ । परिचय पत्रमा व्यक्तिगत सम्पूर्ण विवरण हुने भएकाले सुरक्षाको दृष्टिले अन्तर्राष्ट्रिय मापदण्ड प्रयोग गरिएको कार्यकारी निर्देशक सुवेदीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *