४ जिल्लाका सिडिओको रातारात सरुवा
काठमाडौं, ५ मंसिर । निर्वाचन आयोगले लागू गरेको आचारसंहिता विपरित सरकारले रातारात ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । निर्वाचन आचारसंहिता अनुसार सरुवा गर्न नमिल्ने भएपनि गृहमन्त्रालयले हिजो राति ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।
पहिलो चरणको निर्वाचनको ५ दिनअघि सरकारले भोजपुर, सोलुखुम्बु, रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारी सरुवा गरेको छ ।रसुवाकी हरिदेवी पौडेललाई अध्यागमन विभागमा सरुवा गरी गृहमन्त्रालयका चोमेन्द्र न्यौपानेलाई पठाइएको छ । नुवाकोटका जगदिशराज बराललाई प्रहरी किताब खानामा सरुवा गरिएको छ । उक्त स्थानमा गृहमन्त्रालयका वीरेन्द्र कुमार यादवलाई पठाइएको छ । सोलुखुम्बुका प्रजिअ भुपेन्द्र क्षेत्रीलाई क्षेत्रीय प्रशासन कार्यालय हेडौंडामा सरुवा गरी उनको ठाउँमा गृहमन्त्रालयका सूर्य खनाललाई लगिएको छ । त्यसैगरी भोजपुरका प्रजिअ चेतराज बराललाई राष्ट्रिय परिचयपत्रमा सरुवा गरी, गृहमन्त्रालयका फणिन्द्र दहाललाई लगिएको छ ।