सुरक्षा व्यवस्था कडा राख्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौ, ५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्त बनाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारमा भएको ३ नम्वर प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मतदाता र उम्मेद्वारको सुरक्षामा कुनै कमी नराखी चुस्त बनाउन यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री देउवाले चुनाव विथोल्ने गरी भएका केही घटनाका दोषीलाई तत्काल पक्राउ गरेर कडा कारबाही गर्न पनि निर्देशन दिएका छन् । उनले चुनावमा उम्मेदवार र मतदाता दुवै ढुक्क भएर लोकतन्त्रको अभ्यार गर्न पाउने गरि देशभर सुरक्षा अवस्था प्रभावकारी बनाउन नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका नेतृत्वलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री देउवाले निर्वाचन बिथोल्न खोज्ने जुनसुकै समूहलाई पकाउ गरी जेल हाल्न समेतको निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले मतदान गर्न पाउने नागरिक अधिकारको रक्षाका लागि जुनसुकै कदम चाल्न सुरक्षा निकायलाई विशेष निर्देशन दिएका हुन् । पछिल्ला दिनमा मुलुकका विभिन्न क्षेत्रमा उम्मेदवारलाई केन्द्रित गरेर विष्फोटका घटना बढेको सन्दर्भमा प्रधानमन्त्रीले सुरक्षा निकायलाई तदारुकताका साथ काम गर्न निर्देशन दिएका हुन् । जनतालाई निर्भिकतापूर्वक निर्वाचनमा भाग लिने वातावरण सिर्जना गर्नु अहिलेको प्रमुख कर्तव्य भएको प्रधानमन्त्री देउवाले बताए ।
प्रधानमन्त्री देउवाले विप्लव समूहबाट विभिन्न निर्वाचन क्षेत्रमा बुथ कब्जा गर्ने प्रयास हुने सूचना आएको भन्दै निर्वाचनलाई असर पु¥याउने जस्तासुकै प्रयासलाई निस्तेज पार्नुपर्ने बताएका छन् । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी तुल्याउन प्रदेश नं ३ अन्तर्गतका जिल्लाका सुरक्षा निकायका प्रमुखसँग सोमबार गृह मन्त्रालयमा छलफल भएको छ ।
उक्त छलफलमा प्रदेश नं ३ अन्तर्गतका जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सहभागी रहेको मन्त्रालयले जनाएको छ । प्रदेश नं ३ अन्तर्गत दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर जिल्लाका सुरक्षा प्रमुखहरुको सहभागीता रहेको थियो ।
राष्ट्रिय प्राथमिकताका रुपमा रहेको आगामी निर्वाचनलाई सफल तुल्याउन सुरक्षा निकायबीच प्रभावकारी समन्वयका साथ योजनाबद्ध ढंगबाट अघि बढेको गृह मन्त्रालय सुरक्षा समन्वय महाशाखाका प्रमुख सहसचिव नारायणप्रसाद शर्माले बताए ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न बनाइएको सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गर्ने, निर्वाचन सुरक्षामा देखिएको चुनौती, समस्या र समाधानको उपाय खोजीनुपर्नेमा सहभागीले जोड दिएका छन् । कार्यक्रममा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक दिलीप रेग्मी तथा रक्षा र गृह मन्त्रालयका उच्च अधिकारीको सहभागीता रहेको थियो ।