पाँचथर प्रहरीले गर्यो ११ जना पक्राउ
पाँचथर, ३ मंसिर । पाँचथर प्रहरीले केही दिन यता ११ जनालाई नियन्त्रणमा लिएको छ । आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा फिदिम नगरपालिका–१४ की टीकादेवी राई, फालेलुङ गाउँपालिका–५ की तारा राई र मौसम थाम्सुहाङ, फाल्गुनन्द गाउँपालिका–३ का विशाल राई, इच्छाबहादुर राई, एलिया नेम्वाङ रहेका छन्।
त्यस्तै सोही गाउँपालिका–५ का जितबहादुर चेम्जोङ, हिलिहाङ गाउँपालिका–२ का डिल्लीराम कटुवाल, इलामको फाकफोकथुम गाउँपालिका–१ का रुपनारायण अधिकारीसहित अन्य दुई जनालाई पनि नियन्त्रणमा लिइएको पाँचथर प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमध्ये टीकादेवी र रुपनारायण शिक्षक हुन् । उनीहरुलाई विद्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको पाएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए । उनीहरुउपर म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताए । उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
कुनै पार्टी वा संगठनमा आबद्ध रहेका आधारमा पक्राउ नगरिएको प्रहरी नायब उपरीक्षक गौतमले बताए । तर बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति पाँचथरले भने प्रहरीले बिनाकारण आफ्ना कार्यकर्तालाई धमाधम पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ ।