चुडामणी विरुद्ध अर्को मुद्धा दायर गर्ने तयारीमा अख्तियार
काठमाडौं, २३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्माविरुद्ध अर्को मुद्धा लगाउने तयारी थालेको छ । शर्माविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको उजुरीमा केन्द्रित रहेर नया मुद्धा चलाउने तयारी गरेको हो ।
लोकसेवा आयोगको तयारी कक्षाको पारिश्रमिक र पुस्तक बिक्रीलाई आफ्नो आर्जन भनी दाबी गरेका शर्माको बुढानिलकण्ठस्थित घर शकांको घेरामा परेपछि अख्तियारले छानविन गरिरहेको बताइएको छ । शर्माको दावी र अख्तियारको अनुसन्धानमा १५ करोडको फरक देखिएपछि बयानका लागी पटक पटक बोलाउदा पनि आनकान गरेपछि सात दिने पत्र शर्माको घरमा टासेको छ । सुचना लिएर जादा पनि घरमा कोही नभएको भन्ने, घरमा मान्छे हुदा पनि बाहिर आएर कोही छैन भन्ने जवाफ आएपछि शर्माकै घरमा पत्र टाँस्नु परेको अख्तियार स्रोतले बतायो ।
आयोगको टोलीले वडा सचिवको रोहवरमा बुढानिलकण्ठ नगरपालिका तीन चण्डेश्वरी मार्गमा रहेको शर्माको घरमा पत्र टाँसेको हो । ‘गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा परेको उजुरीमाथिको छानविन र बयानका क्रममा शर्मालाई डाक्न खोजिएको हो, अख्तियार स्रोतले भन्यो । आन्तरिक राजस्व विभागको महानिर्देशक हुँदा भ्रष्टाचारको आरोप लागेर निलम्बनमा परेका शर्मामाथि कर निर्धारणमा अनियमितता गरेको आरोपमा झण्डैं १० अर्ब रुपैंयाँको बिगो र जरिवाना माग दाबी गरिएको छ ।