झापाको बिर्तामोडमा अनिश्चितकालीन कर्फ्यू
काठमाडौं, १० कार्तिक । बालकका हत्यारालाई कारबाही गर्न माग गर्दै गरिएको प्रदर्शनपछि उत्पन्न तनाव कम गर्न झापाको बिर्तामोडमा कर्फ्यू जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले मुक्तिचोकको आसपास दुई किलोमिटर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको हो ।
पूर्बमा बसपार्क,पश्चिममा चारपाने,उत्तरमा महानन्द चौक र दक्षिणमा बिर्ताबजारसम्म सिमा कायम राखि ति बिचका ठाउमा कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
अर्जुनधारा नगरपालिका ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कारवाहीको माग गर्दै बिर्तामोडमा निकालिएको र्यालीमा प्रहरीले हस्तक्षेप गरेपछि तनाव भएको हो । लक्ष्मणको हत्या भएको एक महिना बित्नै लाग्दा पनि प्रशासनले हत्यारालाई पक्रिन नसकेको भन्दै परिवार, आफन्त र स्थानीयबासिन्दाले बिर्तामोड बजार बन्द गराएर र्याली निकालेका थिए ।
र्यालीमा प्रहरीले हस्तक्षेप गरेपछि ढुङ्गामुढा भएको थियो । विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीेले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।
प्रहरीले आरोपितलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले आज विर्तामोड बन्द गरेका थिए ।