‘छक्का पञ्जा २’ ले ११ दिनमा कमायो दश करोड
काठमाडौं, २२ असोज । दशैंको फूलपातीको दिनबाट देशव्यापी प्रदर्शनमा आएको वर्षको प्रतिक्षीत फिल्म ‘छक्का पन्जा २’ ले एघारौं दिनसम्म आईपुग्दा १० करोड रुपैयाँभन्दा माथिको कारोबार गरेको छ ।
नेपाली सिनेमा क्षेत्रमा सर्वाधिक व्यापार गर्ने फिल्म ‘छक्का पञ्जा’ ले सत्र करोडको व्यापार गरेको थियो भने फिल्म ‘कोहिनुर’ ले दश करोडको व्यापार गरेको थियो । त्यस्तै रिलिज भएको पहिलो दिन सिनेमाले नेपाली सिनेमाको बजारमा भारतीय फिल्म बाहुबलीले राखेको रेकर्ड पनि तोडिसकेको छ ।
दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पञ्जा २’ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तीमा खड्का, स्वरुप पुरुष ढकाललगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपकरदीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन् ।
फिल्म यतिबेला देशभरका हलमा प्रदर्शन भइरहेको छ । फिल्मको कारोबर अझै केही दिन यही गतीमा अघि बढ्ने पक्का छ ।