उपत्यकामा ‘फायर हाइड्रेन्ट’ जोडिँदै

भक्तपुर न्यूज

२१ असोज २०७४ ५:४७

उपत्यकामा ‘फायर हाइड्रेन्ट’ जोडिँदै

काठमाडौं, २१ असोज । मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा दमकलले पानी भर्न मिल्ने गरी आधुनिक प्रविधिमा आधारित ‘फायर हाइड्रेन्ट’ जोड्ने भएको छ । यसले आयोजनाबाट उपत्यकामा पानी वितरण सुरु भएसँगै ं आगलागी नियन्त्रण प्रभावकारी बनाउने बताइएको छ । उपत्यकाका ३ सय स्थानमा दमकलले पानी भर्न सक्ने गरी फायर हाइड्रेन्ट जडानको तयारी गरिएको मेलम्ची आयोजनाले जनाएको छ ।

कतिपय स्थानमा यसको जडान सुरु भइसकेको आयोजनाले जानकारी दिएको छ । यसले आगलागी नियन्त्रणका लागि पानी भर्न दमकललाई चक्रपथबाहिरका विभिन्न स्रोतसम्म पुग्नुपर्ने बाध्यता अन्त्य हुने आयोजनाको भनाइ छ । सहरी क्षेत्रमा फायर हाइड्रेन्ट निकै आवश्यक प्रविधि मानिन्छ । आगलागीको जोखिम व्यवस्थापनका लागि यस्ता हाइड्रेन्ट प्रभावकारी मानिन्छ । सहरका सबैजसो भागमा यस्तो प्रविधि जोड्ने अन्तर्राष्ट्रिय अभ्यास पनि छ ।

मेलम्चीको पाइपलाइन बिछ्याउने क्रममै हाइड्रेन्ट जोड्न थालिएको आयोजनाले बताएको छ । सहरका आवासीय तथा कोर एरिया, मुख्य व्यापारिक क्षेत्रहरूमा फरकफरक प्रविधिका हाइड्रेन्ट जोड्न लागेको कार्यान्वयन एकाइका प्रमुख तिरेश खत्रीले जानकारी दिए । पाइप बिछ्याउने क्रममै आयोजनाले फायर हाइड्रेन्ट रहने स्थानको पहिचान गरिसकेको थियो । त्यसैअनुसार सडक किनारामा प्वाइन्टहरू राखिएको बताउँदै अहिले यसको माथिल्लो भाग जडानको काम मात्रै बाँकी रहेको उनले जानकारी दिए ।

अहिले ठूला आगलागीका घटनामा दमकललाई पानी भर्न कहाँ पुग्ने भन्ने समस्या हुने गरेको छ । उपत्यकाको रिङ रोडभित्र छिटो पानी भर्ने स्रोतको अभाव भएको बेला यो प्रविधिलाई विकल्पका रूपमा लिइएको छ । यर्सबीच मेलम्चीको पानी उपत्यकामा वितरण गर्न ६ सय ७० किमी पाइप बिच्छ्याउनुपर्नेमा ५५ किमीको काम बाँकी छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकामा पानी वितरणका लागि पाइप बिच्छ्याउने जिम्मेवारी पाएको छ । असोजमै पानी ल्याइसक्ने सरकारको लक्ष्य थियो । सुरुङको काम नसकिएकाले र वर्षा याममा सडक हिलाम्मे हुने भएपछि निर्देशनालयले उपत्यकाका मुख्य सडकमा पाइप बिच्छ्याउने काम केही समयलाई रोकेको थियो ।

वर्षा याममा सडक खनेर पाइप बिच्छ्याउँदा धुलो र हिलोका कारण आवतजावतमा समस्या भएपछि वर्षा नसकिएसम्मका लागि रोकिएको काम पुनः सुरु गरिएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए । ‘पानी वितरणका लागि ६० किमी थोक वितरण प्रणालीको पाइप बिच्छ्याइएको छ, ६० किमीमध्ये पाइप जोड्नुपर्ने स्थानबाहेकमा काम सकिएको छ, वितरण सञ्जालको ५५ किमी पुस मसान्तसम्म सक्ने योजना छ’, उनले भने । पुस मसान्तसम्म पहिलो चरणमा पानी वितरण गरिने स्थानमा पाइप बिच्छ्याइ सक्ने योजना रहेको निर्देशनालयले जनाएको छ । पाइप बिच्छ्याइएको स्थानमा पाइप परीक्षण पनि सुरु गरिएको छ । सुन्दरीजलबाट बाग्मतीको पानी प्रशोधन केन्द्रमा लगेर पाइप परीक्षण गरिएको हो ।

बाँकी करिब डेढ किमी सुरुङ निर्माण सकेर चैत मसान्तसम्म पानी काठमाडौैं ल्याई वितरण गरिसक्ने मेलम्ची खानेपानी आयोजनाको लक्ष्य छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट २७ किमी सुरुङ निर्माण गरेर उपत्यकामा मेलम्ची खोलाको पानी ल्याउने अन्तिम तयारी भइरहेको छ । तयारीअनुसार चैत मसान्तभित्र उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने लक्ष्य राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *