महानवमीमा सिद्धिदात्री भगवतीको पूजाआराधना गरिँदै
भक्तपुर १३ असोेज बडादशैंको नवौं दिन आज घर(घरमा नवदुर्गाको अन्तिम अवतार सिद्धिदात्रीको पूजाआराधना गर्दै महानवमी मनाइँदैछ । भगवान शिवले उनकै आराधना गरेर सिद्धि प्राप्त गरेको धार्मिक विश्वास छ । सोही कारण उनको आधा शरीर देवीको भएको र उनी अर्धनारिश्वर नामबाट प्रसिद्ध भएको धार्मिक मान्यता पनि छ । पूर्ण निष्ठाका साथ साधना गर्नेहरूमा सिद्धिदात्रीको आशिर्वाद प्राप्त हुने विश्वास छ ।
भारत हिमाचलको नन्दा पर्वतमा सिद्धिदात्रीको प्रसिद्ध तीर्थस्थल पनि छ । दायाँतर्फको तल्लो हातमा चक्र, माथिल्लोमा गदा, बायाँतर्फको तल्लो हातमा शंख, माथिल्लोमा कमल बोकेकी सिंहमा सवार देवीलाई सिद्धिदात्रीका रुपमा चिन्ने गरिन्छ ।
चामुण्डादेवीले रक्तबिज असुरको संहार गरेको दिनका रूपमा पनि महानवमीलाई लिइन्छ । भगवान श्रीरामले रावणको बध गर्ने शक्ति प्राप्त गर्न नौ दिनसम्म दुर्गा भवानीको आराधना गरेको रामायणमा वणिर्त छ ।