ट्रम्पले किमलाई ‘बाँकी नराख्ने’ धम्की
एजेन्सी, १० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उन र विदेशमन्त्री रि योङ होलाई ‘लामो समय बाँकी नराख्ने’ चेतावनी दिएका छन् । विदेशमन्त्री रिले शनिबार संयुक्त राष्ट्रसंघीय महासभामा गरेको सम्बोधनको प्रतिक्रियामा ट्रम्पले यस्तै गतिविधिलाई निरन्तरता दिए उनीहरू दुईलाई बाँकी नराख्ने धम्की दिएका हुन् ।
रिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले ‘आत्मघाती लक्ष्य’ लिएको बताएका हुन् । उनको भाषण राष्ट्रपति ट्रम्पकै नक्कलजस्तै देखिएको छ । ट्रम्पले गत मंगलबार महासभामा सम्बोधन गर्दै कोरियाली नेता किम जङ उनलाई ‘आत्मघाती लक्ष्यउन्मुख रकेटम्यान’ को संज्ञा दिएका थिए । तर उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपतिको भनाइलाई ‘कुकुरको भुकाइ’ को संज्ञा दिँदै उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रम नरोक्ने चेतावनी दिएका थिए ।
‘मानसिक सन्तुलन गुमाएका अमेरिकी राष्ट्रपतिको पछाडि फर्कनै नसक्ने गल्तीका कारण उत्तर कोरियाली क्षेप्यास्त्र अमेरिकी मूल भूमिमा प्रहार गर्नु अपरिहार्य बनेको छ ।’ ट्रम्पले सम्पूर्ण उत्तर कोरियालीको अपमान गरेको उल्लेख गर्दै रिले भने, ‘ट्रम्पले उनको भाषणको महँगो मूल्य चुकाउनुपर्नेछ ।’ ट्रम्पले अमेरिका र मित्रशक्ति देशलाई खतरा उत्पन्न भए उत्तर कोरिया पूर्णरूपमा ध्वस्त बनाउने बताएका थिए । प्योङयाङको परमाणु कार्यक्रमका कारण हालैका दिनमा अमेरिका र उत्तर कोरियाबीचको तनाव चुलिएको छ ।
युद्धक विमानसहितको शक्ति प्रदर्शनले अमेरिका र उत्तर कोरियाबीचको तनावमा उत्कर्षमा पुग्ने देखिएको छ । अमेरिका र उत्तर कोरियाली नेताहरूबीच विगत केही दिनयता वाकयुद्ध चलिरहेका बेला अमेरिकी युद्धक विमान उत्तर कोरियाली सीमा क्षेत्रमा यति नजिकबाट उडेको यो पछिल्ला केही दशकयता पहिलो घटना भएको बताइएको छ ।
उत्तर कोरियाले केही महिनायता निरन्तर परमाणु हतियार परीक्षण गरेपछि संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले कोरियालाई उत्तेजक गतिविधि रोक्न दबाब सिर्जना गरिरहेका छन् । त्यसको निरन्तरताका लागि अमेरिकी प्रस्तावमा राष्ट्रसंघीय सुरक्षा परिषद्ले कोरियामाथि नयाँ प्रतिबन्धहरू लगाएको छ । सुरुमा कूटनीतिक वार्तामार्फत कोरियाली प्रायद्वीपमा जारी तनाव अन्त्य गर्नुपर्ने जनाउँदै आएका रूस र चीनले प्रस्तावको पक्षमा मत जाहेर गरेका थिए ।