टिका र जमरा लगाइँदै विद्यार्थीलाई दशैं छुट्टी
भक्तपुर, ४ असोज । नजिकिँदै आएको हिन्दु धर्मावलम्वीहरुको महान चाड वडादशैंको अवसरमा आज एभरेस्ट भक्तपुर स्कुल र एभरेस्ट इंगलिस स्कुलका विद्यार्थीहरुलाई टिका र जमरा लगाएर शुभकामना दिँदै भोलिबाट दशैं विदा दिइएको छ । भोलिदेखि असोज २१ गतेसम्म विद्यार्थीलाई दशैं विदा दिइएको हो ।
एभरेस्ट भक्तपुर स्कुलको कक्षा १ मा पढिरहेका ४ वटा सेक्सन रारा, फेवा, वेगनास र रुपातालमा आवद्ध एक सय जना विद्यार्थीले भदौ २६ गते विद्यालयको सभा हलको कुनामा छरेको जमरा ९ दिनसम्म पानी हालेर हुर्काएका थिए ।
त्यही जमरा आज दशौं दिनमा काटेर नवदुर्गा भवानीको पुजाआजा गरि सबै विद्यार्थीलाई टिका र जमरा लगाई शुभकामना दिएर विदा दिईएको एभरेस्ट इंगलिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले जानकारी दिए ।
आज स्कूलमा आयोजित कार्यक्रममा संस्थापक प्रिन्सिपल राजभण्डारी तथा एभरेस्ट भक्तपुर स्कुलकी संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले विद्यार्थीलाई टिका र जमरा लगाई शुभकामना दिएका थिए ।