मसी लत्पतिने डरले मतपत्र उल्टो पट्याएको हुँ : माधव नेपाल
काठमाडौं, २ असोज। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मतदान गरेपछि मतपेटिकामा खसाल्न लागेको मतपत्र उल्टो पट्याइएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
एमाले निकट प्रेस चौतारीका केन्द्रीय सदस्य समेत रहेका पत्रकार फणि महतले फेसबुकबाट माधव नेपालको तस्वीर सार्वजनिक गर्दै स्टाटस लेखे रौतहटमा मतदाता शिक्षा पुगेको छैन भन्ने उदाहरण हो यो । महतले प्रतिकात्मक रुपमा राखेको सो तस्वीर एकाएक भाइरल बन्यो । पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले नजानेर मतपत्र उल्टो पट्याएका हुन् त रु सामाजिक सञ्जालमा यो प्रश्न पनि उठ्यो ।
कतिपयले निर्वाचन आचारसंहिता विपरीत माधव नेपालले सूर्य चिन्हमा मत दिएको देखिने गरी मतपत्र प्रदर्शन गरेको आरोप पनि लगाउन भ्याए । रौतहटको गौर नगरपालिकास्थित जानकी कन्या प्रावि मतदान केन्द्रमा मतदान गरेर पत्नी गायत्री नेपालसहित बाहिरिएका एमाले नेता नेपालसँग सम्पर्क गर्दा उनी कार्यकर्ता र जनताकै बीचमा थिए । नेता नेपाल मतदान गरिसकेपछि भोजपुरी भाषामा स्थानीयसँग कुरा गरिरहेका थिए ।
चुनाव चिन्ह देखिने साइडबाट मतपत्र पट्याएको र त्यो उल्टो भएको भन्ने टिप्पणीबारे सुनाएपछि एमाले नेता नेपालले त्यसबारे प्रष्ट पारे । उनले भने ‘मैले सोचविचार गरेरै त्यसरी पट्याएको हो । सुल्टो पट्याउँदा मसी लत्पतिने अवस्था देखियो । मैले मतदान गरेको ठाउँमा त्यस्तो देखियो ।’ पूर्वप्रधानमन्त्री नेपालको अभिव्यक्तिले निर्वाचन आयोगले प्रयोग गरेको मसीको गुणस्तरबारे गम्भीर प्रश्न उब्जिएको छ । आयोगले प्रयोगमा ल्याएको मसी लत्पतिने खालको भएमा यसदे मतपत्र बदर हुने खतरा रहन्छ ।
अहिलेसम्मको मतदाता शिक्षामा मतपत्र पट्याउँदा स्वस्तिक छाप भित्रपट्टि पर्ने गरी पट्याउनुपर्ने भनिँदै आएको छ । तर, पूर्व प्रधानमन्त्रीले नै मसीमाथि प्रश्न उठाउनुपर्ने अवस्थाले मतदाता शिक्षा र मसीको गुणस्तर दुबैमा प्रश्न उठाएको छ ।आयोगका प्रवक्ता नवराज ढकाल ले यसबारे अनविज्ञता प्रकट गर्दै ‘त्यस्तो हुनु नपर्ने’ छोटो प्रतिक्रिया दिए ।