दसैँलाई मुस्ताङबाट २० हजार भेंडाच्याङग्रा ल्याइने

भक्तपुर न्यूज

२३ भदौ २०७४ २:२०

दसैँलाई मुस्ताङबाट २० हजार भेंडाच्याङग्रा ल्याइने

काठमाडौ २३ भदौ । हिमालपारीको जिल्ला मुस्ताङबाट यसबर्ष दसैँतिहारलाई लक्षित गरी २० हजार भन्दा बढी भेंडाच्याङग्रा ल्याइने भएको छ । १५ भदौदेखि उपल्लो मुस्ताङका सीमाक्षेत्रका स्थानीय र तिब्बतका व्यापारीबीच कोरलानाका क्षेत्रमा अन्तरदेशीय व्यापार मेला जारी छ ।

मेलामा दसैँतिहारलाई लक्षित भेंडा खरिदबिक्री भइरहेको छ । व्यापारमेला र नेपाली किसानहरुबाट गरी नेपाली व्यापारीले १५ हजारको हाराहारीमा भेडा खरिद गर्ने अनुमान गरिएकोे जिल्ला पशु सेवा कार्यालय मुस्ताङका योजना अधिकृत आइतबहादुर थकालीले जानकारी दिए ।

थकालीकाअनुसार ५ हजारको हाराहारीमा च्याङग्रा ल्याइनेछ । ‘मेला केही दिनमा सकिँदैछ, तर अहिलेसम्म बुझ्दा भेडाको खरिदबिक्री उत्साहजनक छ,’ उनले भने, ‘गत वर्षमा सीमाक्षेत्रका किसानले पहिला नै ल्याएर राख्थे, अहिले मेलामै किनबेच भइरहेको छ, यस वर्ष २० हजार भेडाच्याङग्रा बजारमा जाने अनुमान छ ।’

कार्यालयको तथ्यांकअनुसार गत वर्ष १३ हजार भेंडा र ८ हजार ४५ च्याङग्रा मुस्ताङबाट बाहिरिएका थिए । त्यसबाट मुस्ताङका किसानले २७ करोड रुपैयाँबराबरको कारोबार गरेका थिए । चाडपर्वको समयमा नेपाली बजारमा हुने मासुको मागलाई तिब्बत र सीमा क्षेत्रका किसानले पालेका भेंडाच्याङ्ग्राले धेरै हदसम्म पूर्ति गर्दै आएको छ ।

गत वर्षहरूमा जेठ असार महिनामै सीमाक्षेत्रका किसानले तिब्बतका किसानबाट ल्याएर पालेका भेंडा नै बजारमा आएको थियो । यस वर्ष भेंडा तिब्बतका र च्याङग्रा नेपाली उत्पादन हुने पशु सेवा कार्यालयले जनाएको छ । भेंडाच्याङग्रा खरिदका लागि धौलागिरिकासहित पोखरा र काठमाडौंबाट व्यापारीहरू सीमाक्षेत्र पुगे पनि उनीहरूले स्थानीय किसान तथा व्यापारीबाट खरिद गरी बजार ल्याउने हुन् । उनीहरूले सिधै तिब्बती व्यापारीबाट भेंडा किन्दैनन् ।

गत वर्ष बजारमा आएको सबै च्याङग्रा नेपाली किसानले पालेकै च्याङग्राहरू हुन् । ‘तिब्बतबाट आउने भनेको भेंडा हो, च्याङग्रा नेपाली किसानहरूले तयार पार्छन्’, योजना अधिकृत थकालीले भने । मुस्ताङको लोमान्थाङ, छोसेर, छोन्हुप, सुर्खाङ, चराङ, कागबेनी, झोङ र घमीलगायतका क्षेत्रका किसानले पालेका च्याङग्रा बजारमा आउने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *